अहमदाबादमा लन्डन उडानका क्रममा दुर्घटनामा परेको एयर इण्डियाको विमानबारे गम्भीर खुलासा भएको छ। १२ वर्ष पुरानो उक्त विमानको दायाँपट्टिको इन्जिन हालै मर्मत गरिएको थियो। मार्च २०२५ मा प्रतिस्थापन गरिएको यो इन्जिनले प्राविधिक त्रुटि खेपेको आशंका उठेको छ।
एआई-१७१ उडान संख्या बोकेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही मिनेटमै मेघानी नगरस्थित मेडिकल होस्टेल भवनमा ठोक्किएको थियो।
विमानमा १२ जना चालक दल सहित २४२ जना सवार थिए। दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार मात्रै जीवित उद्धार गरिएका एक्ला यात्रु हुन्।
दुर्घटनाअघि मर्मत, बीमा र जाँचहरूको विवरण
स्रोतहरूका अनुसार यो विमानमा जुन २०२३ मा विस्तृत मर्मत जाँच गरिएको थियो। अर्को नियमित जाँच भने डिसेम्बर २०२५ का लागि तय गरिएको थियो। त्यस्तै, एप्रिल २०२५ मा एयर इण्डियाले यसको बीमा कभर ७५० करोड रुपैयाँबाट बढाएर ८५० करोड पुर्याएको थियो।
यो दुर्घटना पछिल्ला एक दशकको सबैभन्दा ठूलो हवाई दुर्घटना मानिएको छ। विमाको कुल बीमा दाबी लगभग ३ हजार करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन भारतको इतिहासमा सबैभन्दा महँगो हवाई बीमा दाबी हुने संकेत गरिएको छ।
डीएनए परीक्षणमार्फत शव पहिचान, पूर्व मुख्यमन्त्री रुपाणीको निधन
विमान जमिनमा ठोक्किएलगत्तै भयावह विस्फोट भएको थियो। शवहरू नराम्ररी जलेका कारण डीएनए मिलान बाट पहिचान प्रक्रिया अगाडि बढाइएको छ। दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी सहित अन्य प्रतिष्ठित व्यक्तित्वहरूको मृत्यु भएको छ।
डीजीसीएको निर्देशन र अनुसन्धान समिति गठन
दुर्घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले बोइङ ७८७ ड्रीमलाइनर विमानहरूको गहन निरीक्षण गर्न निर्देशन दिएको छ। साथै, केन्द्रीय गृह सचिवको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरिएको छ जसले तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ।
एयर इण्डियाले आफ्नो विज्ञप्तिमा जनाएको छ कि DGCA का निर्देशन अनुसार ९ वटा बोइङ ७८७ विमानमा सुरक्षा जाँच पूरा भइसकेको छ र बाँकी २४ विमानमा पनि जाँच प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार