खेलाडीलाई ३ करोड नगद पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषदकाे निर्णय

१९औं एसियन गेम्सका पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले अब नगद पुरस्कार पाउने भएका छन् । आज मन्त्रिपरिषदकाे बैठकले खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हाे। 

युवा तथा खेलकुद मन्त्रालयले  पेश गरेको प्रस्तावलाई बिहीबार मन्त्रिपरिषदले अनुमोदन गरेकाे हाे ।यसरी, आइसिसी मेन्स टि–ट्वान्टी वल्र्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार रूपैयाँ नगद पुरस्कार पाउने भएकाे छ।

यसैगरी, १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार रूपैयाँ, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन्। 

यसकासाथै, १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार रूपैयाँ हात पार्ने भएकी छिन् भने प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार रूपैयाँ पाउनेछन् । सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५  लाख ३५ हजार पाउने भएका छन्। 

एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन। यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछन्। 

साथै, चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख पाउने भएका छन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार हात पार्नेछन्। 

प्रतिक्रिया