माडागास्करमा युवाहरूको आन्दोलनपछि राष्ट्रपति रजोएलिनाले सरकार विघटन



एन्तानानारिभो – माडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिनाले निरन्तर तीन दिनदेखि चलेको युवाहरूको आन्दोलनपछि सरकार विघटन गर्ने घोषणा गरेका छन्।


पानी र बिजुलीको लगातार कटौतीविरुद्ध सडकमा उत्रिएका युवाहरूको आन्दोलन हालसम्मको सबैभन्दा ठूलो ठहरिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।


केन्या र नेपालमा देखिएको जेन–जेड पुस्ताको आन्दोलनबाट प्रेरित यी प्रदर्शनहरूले सरकारप्रति आक्रोश प्रकट गरेका छन्।


राष्ट्रपतिले राष्ट्रिय प्रसारक टेलिभिजनमार्फत सम्बोधन गर्दै जनतासँग माफी मागे र आन्दोलनकारी युवाहरूसँग संवादको ढोका खोल्ने बताए।


“यदि सरकारका सदस्यहरूले जिम्मेवारी पूरा गर्न सकेका छैनन् भने हामी त्यसलाई स्वीकार्छौं र माफी माग्छौं। मैले आवाज सुनेँ, पीडा महसुस गरें, र दैनिक जीवनमा परेको कठिनाइलाई बुझें,” राष्ट्रपतिले भने।


उनले आन्दोलनका क्रममा लुटपाटबाट प्रभावित व्यवसायलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्।


विश्लेषकहरूका अनुसार यो संकटले माडागास्कर सरकारलाई जनविश्वास पुनःस्थापना गर्ने र आधारभूत सेवा सुधार गर्ने ठूलो चुनौती दिएको छ।

प्रतिक्रिया