पोखरा । मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा मारेको छ । आयोगको टोलीले आज दिउसो महानगर कार्यालयमा छापा मारेको हो ।
नियमविपरीत मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको र उजुरीमाथि छानबिन गर्न महानगरबाट कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजश्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजश्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताइएको छ ।महानरको कार्यपालिका बैठकबाट निर्णय गराएर १९ करोड भन्दा बढी राजश्व छुट दिएको समाचार बाहिरिएको थियो । यस सम्बन्धमा तीव्र आलोचना भएपछि सो निर्णय बदर गरेर महानगर आफैले छानविन समिति बनाएको जनाएको छ ।
यस विषयमा मणिपाल शिक्षण अस्पतालले कुनै गल्ती कमिकमजोरी नगरेको बताएको छ । मणिपालले महानगरकनातर्फबाट समयमै भवन निर्माणको सम्पन्नताको प्रमाणपत्र प्राप्त नहुँदा यो समस्या बढ्दै गएको जनाएको छ । अस्पतालले नियमपूर्वक तिर्नुपर्ने सबै राजश्व तिरेको जनाएको छ ।