दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।
बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना भएको हो। बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।
बसचालक पुर्चौँडी नगरपालिका-८ २४ वर्षीय वीरेन्द्र बोहरा, गम्भीर घाइते भएका छन्। पुर्चौँडी-८ का ४२ वर्षीय पदमबहादुर बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएका छन्।
यस्तै पुर्चौँडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका-५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउँद पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए।
बस चालक बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।