एकता एकेडेमीद्वारा निःशुल्क आँखा परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न, ३३ जनालाई निःशुल्क मोतियाबिन्दु शल्यक्रियाका लागि सिफारिस


ललितपुर, साउन ५, २०८३ — ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोस्थित एकता एकेडेमीले निःशुल्क आँखा परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।


कार्यक्रम गोदावरी नगरपालिका–१२ वडा कार्यालय, ललितपुर महानगरपालिका–२४ (धापाखेल) वडा कार्यालय, फाइट फर लाइफ नेपाल तथा मात्रिका आई सेन्टरको प्राविधिक सहयोगमा आयोजना गरिएको हो।


कार्यक्रमको अध्यक्षता एकता एकेडेमीकी प्रिन्सिपल इन्दिरा शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन सहभागी हुनुभएको थियो।


कार्यक्रममा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धर, फाइट फर लाइफ नेपाल चापागाउँ शाखाकी अध्यक्ष सुनिला खड्गी, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एलका जोन चेयरपर्सन दिलकुमार महर्जन, फाइट फर लाइफ नेपालकी कोषाध्यक्ष तथा मिस नेवा कृषा महर्जन, सचिव तथा मिस नेवा सकिना महर्जन, मात्रिका आई सेन्टरका अस्पताल व्यवस्थापक डा. कल्याण ढुंगाना, पीडीजी भूगोल शेरचन, लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्टका जीएमटी कोअर्डिनेटर पीडीजी मणिश्री बज्राचार्य, ललितपुर महानगरपालिका–२४ का वडा अध्यक्ष दिनेश जंग पाण्डे, गोदावरी नगरपालिका–१२ का वडा अध्यक्ष जगतबहादुर महर्जन, एकता एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष प्रकाशबाबु थापा लगायत विभिन्न सामाजिक व्यक्तित्व, अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।


शिविरमा दुई सयभन्दा बढी अभिभावक, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूले निःशुल्क आँखा परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्राप्त गरेका थिए। परीक्षणका क्रममा विभिन्न आँखासम्बन्धी समस्या पहिचान गरिएको थियो।


त्यसमध्ये ३३ जनामा मोतियाबिन्दुको समस्या देखिएकाले उनीहरूलाई मात्रिका आई सेन्टरमा निःशुल्क मोतियाबिन्दु शल्यक्रियाका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ।


यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा पनि स्थानीय बासिन्दा, समाजसेवी तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममार्फत संकलित रगतले आवश्यक परेका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल इन्दिरा शर्माले “रोग लागेपछि उपचारभन्दा रोग लाग्न नदिनु नै उत्तम” भन्ने सन्देश दिँदै नियमित स्वास्थ्य परीक्षण र जनचेतनाको महत्त्वमा जोड दिनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, अभिभावक तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्नुभयो।


प्रमुख अतिथि नगरप्रमुख गजेन्द्र महर्जनले विद्यालय, स्थानीय सरकार, स्वास्थ्य संस्था तथा सामाजिक संस्थाबीचको सहकार्य समुदाय सेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै यस्ता जनहितका कार्यक्रमलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


ललितपुर महानगरपालिका–२४ का वडा अध्यक्ष दिनेश जंग पाण्डेले पनि कार्यक्रमको प्रशंसा गर्दै प्रत्येक नागरिक समान रहेको उल्लेख गर्नुभयो। उहाँले नागरिकको स्वास्थ्य र कल्याणका लागि यस्ता कार्यक्रमलाई निरन्तर साथ र सहयोग रहने बताउनुभयो।


कार्यक्रमको सफलतापछि एकता एकेडेमीले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थी र समुदायको समग्र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया