इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’ अभियान

इलाम आउँदो १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचन लक्षित गरेर बिहिबार सदरमुकामस्थित चोकबजारमा ‘नो भोट’ अभियान चलाईएको छ । निर्वाचन आचारसंहिता–२०७९ को परिच्छेद २ दफा ४ (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

तर, झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा शुक्रबार दिनभर चल्यो । सभामा प्रसाईं आफैं सहभागी भए भने उनको स्वागतका लागि ‘पञ्चकन्या’का नाममा बालबालिका प्रयोग गरियो ।

महाअभियानमा सहभागी हुन जिल्लाबाहिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आए । उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका थिए । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको थियो ।

र, गाडीमा टाँसिएका प्लेक्समा लेखिएको थियो–‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान ।’ महाभियानमा आउनेले प्लेकार्डमा समेत ‘नो भोट’ लेखेका थिए ।

इलाम सदरमुकाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिता विरुद्धको कार्यक्रम चलिरहेपनि प्रशासन मौन देखिएको स्थानिय भिम विशुङ्खेले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले निर्वाचनविरोधी क्रियाकलापलाई कडाई गरिएको भन्दै निर्वाचनविरुद्ध कुनै कार्यक्रम हुन नदिने दाबी गर्नुभएको छ । तर, खुलेआम सयौँ सुरक्षाकर्मीको घेरा भित्र आचारसंहिता विरुद्धको कार्यक्रम चलिरहँदा प्रशासन रमिते देखिएको अर्का स्थानीय वविता मैनालिले बताउनुभयो ।

‘यस्तो कार्य विरुद्ध निर्वाचन कार्यालय र प्रशासनको ध्यान जानुपर्छ ।’ मैनालिले भन्नुभयो ‘एकातिर मतदाता शिक्षा भन्दै सिकाउँदै हिँड्ने चोकबजारमा नो भोट भन्ने अभियान चल्दा नदेख्ने पनि हुन्छ ।’

प्रतिक्रिया