बाजुरा, – बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय प्रशासनका अनुसार, भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति नभए पनि केही भौतिक क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले भूकम्पका कारण बूढीनन्दा नगरपालिका-४ मा एक घर भत्किएको र त्यस घरमा रहेका तीन बालबालिकालाई सकुशल उद्धार गरिएको जानकारी दिए। जिल्लाका अन्य क्षेत्रहरूमा समेत भूकम्पका कारण स्थानीयको घर चर्किएको विवरण आएको छ।
बाजुराको विकट भूगोलका कारण स्थानीय तहसम्म क्षतिको विवरण संकलन गर्न समय लाग्ने भएकाले जिल्ला प्रशासन कार्यालयले नौवटै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र स्थानीयसँग समन्वय गरी स्थलगत रिपोर्ट सङ्कलन गरिरहेको जनाएको छ।
भूकम्पका कारण सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा स्थानीयवासी त्रासले घरबाहिर निस्केका थिए। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भूकम्प शनिबार बिहान ४ बजेर १४ मिनेटमा गएको हो।
बाजुराको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले छिटो विवरण संकलन गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेका छन्।