काठमाडौँ — निरन्तर वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएका अधिकांश सडकमार्गहरू खुल्न थालेसँगै यातायात व्यवसायीहरूले अवरोध नभएका ठाउँमा भोलिदेखि यातायात सञ्चालन गर्ने भएका छन्।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार, काठमाडौंदेखि पश्चिम नेपालतर्फका प्रमुख सडकमार्गमा ठूलो समस्या नरहेकाले सोमबारदेखि यातायात सुचारु गर्न तयारी गरिएको हो। महासंघले गृह मन्त्रालयले पनि यातायात सञ्चालन गर्न आग्रहसहित पत्राचार गरेको जनाएको छ।
महासंघका अध्यक्ष विजय स्वाँरले भने, “गृह मन्त्रालयको सूचना आएको छ। अवरोध नभएका ठाउँमा भोलिदेखि नै गाडी चल्छन्।” उनका अनुसार काठमाडौं–मुग्लिन–नारायणगढ–बुटवल–पोखरा सडकखण्डमा सवारीसाधन सञ्चालनमा विशेष कठिनाइ छैन।
स्वाँरले थपे, “सकभर गाडी सञ्चालन गर्दा पहाडी तथा पहिरो जोखिमयुक्त क्षेत्रमा उज्यालोमै गाडी पास गराउने गरी यातायात सञ्चालन हुनेछ।”
यद्यपि, पूर्वी नेपालका विभिन्न जिल्लामा भने लगातारको वर्षा र पहिरोका कारण राजमार्ग अवरुद्ध रहँदा तत्काल यातायात सञ्चालन गर्न नसकिने उनले बताए। “पहिरो हटाएर सडक क्लियर भएपछि मात्र पूर्वतर्फको यातायात सुचारु हुनेछ,” उनले भने।
यससँगै राजधानीसहित पश्चिम नेपालतर्फका यात्रुहरूका लागि सोमबारदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा आउने भएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता