पूर्ण बहादुरको सारङ्गी' ले दर्शकको सकारात्मक प्रतिक्रिया संगै हाउसफूलको स्थिति सिर्जना गर्यो

काठमाडौं — नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि दोस्रो दिनदेखि हाउसफूलको स्थिति सिर्जना गरेको छ। लक्ष्मीपूजाको अवसरमा रिलिज भएको यस चलचित्रले पहिलो दिन अपेक्षाकृत कम शो पाएको भए पनि, दर्शकको माग बढ्नसाथ हलहरूले शो संख्यामा वृद्धि गरिरहेका छन्।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं भित्र र बाहिर पहिलो दिनमा १९ शो दिएको थियो, तर आज काठमाडौंमा ३१ र बाहिर ३३ शो गरी कुल ६४ शो उपलब्ध गराइएको छ। दर्शकको उच्च चापका कारण क्यूएफएक्सले आज चलचित्रलाई ठूलो हलसमेत उपलब्ध गराएको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले बलिउडका ठूला चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’ लाई पनि पछि पारेको छ। यी दुई चलचित्रभन्दा ‘पूर्ण बहादुरको सारङ्गी’ ले आज बढी शो पाएको छ, जसका कारण मध्यरातसम्म पनि शो सञ्चालन गरिएको छ।

निर्देशक सरोज पौडेलद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रको संवाद महेश दवाडीले लेखेका छन्। निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन्, भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।

दर्शकको साथ र शोको संख्यामा निरन्तर वृद्धि देखिँदै गर्दा ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली सिनेमामा नयाँ कीर्तिमान स्थापित गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया