नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नियुक्त: पुँजी बजारमा नयाँ आशा
१० मङ्सिर २०८१, सोमबार ०७:१८ मा प्रकाशित
आर्थिक न्यूज़
काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार, सरकारको मन्त्रिपरिषद बैठकले उनको नियुक्तिको निर्णय गरेको हो। संस्कृति, पर्यटन र नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले यसका बारेमा जानकारी दिएका छन्।
सन्तोषनारायण श्रेष्ठको नियुक्तिको साथमा, सेबोनले करिब ११ महिनापछि अध्यक्ष पाएको छ। २०८० पुस २० मा रमेशकुमार हमालको पदावधि सकिएपछि बोर्ड अध्यक्षको पद रिक्त थियो। अध्यक्ष नियुक्ति नहुँदा बोर्डका महत्त्वपूर्ण कार्यहरू रोकिएका थिए र पुँजी बजारमा अप्रत्याशित ढिलाइ आएको थियो। यस कारण सरकारले पुँजी बजारको विकासमा बेवास्ता गरेको भन्ने आलोचना पनि भएको थियो।
नयाँ अध्यक्षको नियुक्तिका साथमा, सेयर निष्कासन कार्य, आईपीओ, एफपीओ, म्युचअल फन्ड लगायतका वित्तीय गतिविधिहरू पुनः सुरु हुने संभावना छ। साथै, बोर्डको नेतृत्वले पुँजी बजारको दिगो र स्थिर विकासमा जोड दिने अपेक्षा गरिएको छ।
सन्तोषनारायण श्रेष्ठको नेतृत्वमा बोर्डले प्रभावकारी र पारदर्शी नियमन, सुपरिवेक्षण, र बजारमा सूचना प्रवाहको सुधारका लागि विभिन्न पहलहरू अघि बढाउने आशा गरिएको छ।