अहमदाबाद विमान दुर्घटना: एक जनाको जीवितै उद्धार, अन्यको जीवित भेटिने आशा क्षीण

अहमदाबाद, भारत। लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान अहमदाबादमा दुर्घटना हुँदा २४२ यात्रु सवार रहेको विमानमा एक जनाको जीवितै उद्धार गरिएको छ। अन्य यात्रुहरू जीवित भेटिने सम्भावना अत्यन्त न्यून रहेको प्रहरीले जनाएको छ।

सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो १:३० बजे उडेको उडान नम्बर AI-171 अलि केही बेरमै दुर्घटनामा परेको हो। विमान अहमदाबादस्थित एक आवासीय क्षेत्रमा रहेको चिकित्सकहरूको होस्टलमा ठोक्किएको थियो।

अहमदाबादका प्रहरी आयुक्त जी.एस. मलिकका अनुसार विमान दुर्घटनास्थलबाट सिट नम्बर ११–ए मा रहेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिको नाम विश्वास कुमार रमेश रहेको बताइएको छ। उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ र उपचार भइरहेको छ।

प्रहरी प्रमुख मलिकले भने, “अहिले मृत्यु हुनेको यकिन सङ्ख्या भन्न सकिने अवस्था छैन। विमान घनीबस्तीमा खसेको हुनाले मृत्युको सङ्ख्या अझै बढ्न सक्छ।” हालसम्म २०० भन्दा बढी यात्रुहरूको शव फेला पारिएको बताइएको छ।

एयर इन्डियाले दिएको जानकारीअनुसार उक्त विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानाडाली र सात जना पोर्चुगाली नागरिकसहित दुईजना चालक र १० जना चालक दलका सदस्यहरू थिए।

दुर्घटनापछि उद्धार तथा राहत कार्यमा प्रहरी, दमकल र उद्धारकर्मीहरू संलग्न छन्। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया