न्युयोर्कमा लायन अर्जुन गौडेल ‘एलेक्जेन्डर टि. विल्स – डिस्टिन्गुईस सर्भिस अवार्ड’बाट सम्मानित





न्युयोर्क, साउन १९ – अमेरिकाको न्युयोर्कमा सक्रिय समाजसेवी तथा लायन्स अभियन्ता लायन अर्जुन गौडेललाई प्रतिष्ठित ‘एलेक्जेन्डर टि. विल्स – डिस्टिन्गुईस सर्भिस अवार्ड’ प्रदान गरिएको छ।


सन् २०१६ देखि Lions Clubs International अन्तर्गत Queens Buddha Lions Club मार्फत समाज सेवामा निरन्तर सक्रिय रहँदै लायन्सको आदर्श र सेवाभावलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै Lions Clubs International District 20-K1 Foundation ले गौडेललाई उक्त सम्मान प्रदान गरेको हो।


गौडेल न्युयोर्कमा स्थापित नेपाली समुदायको पहिलो लायन्स क्लब क्विन्स बुद्ध लायन्स क्लबका संस्थापक सदस्य हुन्। उनले एक कार्यकाल क्लबको अध्यक्ष तथा एक कार्यकाल डिस्ट्रिक्ट २०-के१ को जोन चेयरका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। हाल उनी लियो एड्भाइजरको रूपमा सेवा प्रदान गरिरहेका छन्।


उनको अध्यक्षताकालमा क्लबलाई थप सशक्त, संगठित र क्रियाशील संस्थाका रूपमा स्थापित गर्न उल्लेखनीय योगदान पुगेको बताइएको छ। साथै, विगत एक दशकदेखि लायन्स क्लबका विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्दै निरन्तर सेवा पुर्‍याउँदै आएका छन्।


नेपालमा रहँदादेखि नै गौडेल समाजसेवामा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। डिस्ट्रिक्ट २०-के१ फाउन्डेशनले प्रत्येक वर्ष उत्कृष्ट सेवा योगदान गर्ने एक जना क्लब सदस्यलाई ‘एलेक्जेन्डर टि. विल्स – डिस्टिन्गुईस सर्भिस अवार्ड’ प्रदान गर्दै आएको छ।

प्रतिक्रिया