इसराइल–हमासबीच इजिप्टमा जारी शान्ति वार्ता निष्कर्षविहीन


— आमादर्शन न्यूज

काठमाडौँ — इजिप्टको शार्म अल शेखमा सोमबारदेखि अमेरिक, कतार, इजिप्ट र टर्कीको मध्यस्थतामा सुरु भएको इसराइल र हमासबीचको अप्रत्यक्ष शान्ति वार्ता बुधबारसम्म आइपुग्दा पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन।

वार्तामा प्रारम्भिक प्रगति नदेखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व सल्लाहकार स्टिभ विटकोफ र ज्वाइँसमेत रहेका जारेड कुश्नरलाई इजिप्ट पठाउने भएका छन्। अमेरिकी पत्रिका न्यूयोर्क टाइम्स का अनुसार ह्वाइट हाउसका अधिकारी र इजिप्टका विदेशमन्त्री बद्र अब्देलतीले विटकोफ र कुश्नर वार्तामा सहभागी हुने पुष्टि गरेका छन्।

ट्रम्पले वार्ता अघि नै इसराइल र हमासबीचको स्थायी शान्तिका लागि २० बुँदे प्रस्ताव तयार पारेका थिए। गत सेप्टेम्बर २९ मा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भएको भेटमा उनले उक्त प्रस्तावको मस्यौदा प्रस्तुत गरेका थिए। नेतन्याहूले त्यसपछि उक्त प्रस्तावमा आफू सहमत रहेको बताएका थिए।

ट्रम्पको प्रस्ताव अनुसार गाजामा युद्ध तत्काल अन्त्य गर्ने, हमासले जीवित र मृत सबै बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गर्ने र त्यस अवधिभर इसराइलले आक्रमण रोक्ने व्यवस्था गरिएको छ। प्रस्तावमा थप उल्लेख छ— बन्धक फिर्तापछि इसराइलले २५० जना आजीवन कैदी र १७०० जना प्यालेस्टिनी बन्दीलाई मुक्त गर्नेछ।

त्यस्तै, हमासले छाड्ने प्रत्येक मृतक इसराइली बन्धकको बदलामा इसराइलले १५ जना मृतक प्यालेस्टिनीको शव हस्तान्तरण गर्ने प्रस्ताव गरिएको छ।

सीएनएनका अनुसार हमासले युद्धविरामका सर्तहरूमा आंशिक सहमति जनाएको छ तर गाजाको शासनमा आफ्नो भूमिका नखेल्ने र निःशस्त्रीकरणको सर्तमा असहजता देखाएको छ।

यसबीच कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र टर्कीको गुप्तचर प्रमुख इब्राहिम कलिन पनि वार्तामा सहभागी हुन इजिप्ट पुगेका छन्। कतारी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार वार्ता “महत्त्वपूर्ण चरणमा पुगेको” कारण प्रधानमन्त्री स्वयं उपस्थित हुने निर्णय गरिएको हो।

गत वर्ष अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी १० जना नेपालीसहित करिब १,२०० जनाको हत्या गरेको थियो र २५१ जनालाई बन्धक बनाएको थियो। अहिलेसम्म ५० जना बन्धक हमासको नियन्त्रणमा रहेको अनुमान छ। त्यसयता इसराइलले निरन्तर गजामा आक्रमण गर्दै आएको छ, जसबाट हालसम्म करिब ६५ हजार जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संस्थाहरूको अनुमान छ।

वार्ताको परिणाम अझै नआए पनि मध्यपूर्वको सुरक्षा र मानवीय अवस्थालाई दृष्टिगत गर्दै विश्व समुदायले यसलाई निकटबाट निगरानी गरिरहेको छ।

आमादर्शन न्यूज |

प्रतिक्रिया