काठमाडौं। प्रतिकूल मौसमका कारण देशभरका आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (VFR) अन्तर्गत केही उडानहरू सञ्चालनमा रहे पनि विराटनगर र सिमरालगायतका गन्तव्यहरूमा उडानहरू सामान्य रूपमा प्रभावित भएका हुन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुईवटा विमानलाई 'डाइभर्ट' गर्नु परेको छ। यती एयरलाइन्सको सिमराका लागि उडेको विमान सिमरामा अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किएको छ भने विराटनगरतर्फ गइरहेको अर्को विमान पनि बीच बाटोबाटै काठमाडौं फर्किएको हो।
मौसममा आएको खराबीका कारण आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नहुने जनाइएको छ। यद्यपि अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र देशभर मनसुनी वायुको प्रभाव जारी छ। यसका साथै, बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा बदली रहनुका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।