काठमाडौं – बुद्ध एयरको जनकपुर–काठमाडौं उडानमा रहेको एटीआर ७२ विमानले अगाडिको एउटा नोज ह्वील बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ।
जनकपुरबाट काठमाडौंका लागि उडान भरेको उक्त युफोर ५०६ उडान नम्बरको विमानमा उडानको क्रममा पांग्रासम्बन्धी कुनै समस्या देखिएको थिएन। तर, काठमाडौंमा अवतरण भएपछि मात्र विमानको अगाडि अनिवार्य रूपमा हुनुपर्ने दुईवटा नोज ह्वीलमध्ये एउटा गायब रहेको पुष्टि भएको थियो।
यस घटनापछि जनकपुर विमानस्थलमा खोजी गर्दा हराएको पांग्रा धावनमार्गमै फेला परेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले जनाएका छन्। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, विमान अवतरण गर्दा कुनै इन्डिकेटर वा ककपिट नोटिफिकेशन नआएकाले चालक दलले सो विषयमा पूर्वजानकारी पाउन सकेनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले यस विषयमा आधिकारिक रूपमा रिपोर्ट नआइसकेको बताए। हाल विमानलाई ग्राउन्डेड गरी विस्तृत प्राविधिक परीक्षण भइरहेको छ।
उक्त विमानमा चालक दलका सदस्यसहित ६२ जना यात्रु सवार थिए। घटना क्रममा कुनै मानविय क्षति नभए पनि यो घटना नेपाल उड्डयन सुरक्षाका लागि गम्भीर प्रश्न उठाउने विषय बनेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता