रास्वपाले राजदूतहरुको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन परेको थियो। त्यसमध्येबाट सात जनाको समावेशी सूची तयार पारिएको सांसद शिशिर खनालले जानकारी दिए।
‘नेपाल र विदेशमा ख्याती कमाउनु भएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको छ,’ खनालले भने।
अन्तिम सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको उनले बताए।
‘यस समितिले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा.डा. जयराज आचार्यसँग आवश्यक परामर्श गर्नेछ,’ उनले भने।
सत्ता गठबन्धनले रिक्त राजदूतहरूका लागि भागबन्डा गरेको थियो। केही दिनअघि नेकपा (एमाले) को कोटाबाट पाँच जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट दुई जना र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन्। रास्वपाले आफ्नो भागमा परेको दुई जना राजदूत छान्न सार्वजनिक आह्वान गरेर सुझाव मागेको हो।