चितवन । तुइनखोलामा शुक्रबार अपरान्हदेखि निरन्तर पहिरो खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको छ । राति साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रिराज शर्माले जानकारी दिएका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार करिब ७० मिटर माथिबाट ढुंगा झरिरहेकाले पन्छाउने कार्यमा कठिनाइ भएको छ । हालसम्म करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइको गेग्रान सडकमा जम्मा भएको छ ।
सडक पन्छाउने कामका लागि सडक डिभिजनका दुईवटा र नेपाल प्रहरीले एक वटा लोडर परिचालन गरेको छ । तर, ढुंगा खस्ने क्रम नरोकिएकाले थप उपकरण प्रयोग गर्न नसकिएको प्रमुख शर्माले बताए ।
‘ढुंगा खस्ने क्रम रोकिएमा थप मेसिनरी प्रयोग गरी करिब पाँच घण्टाभित्र सडक सफा गर्न सकिनेछ,’ सडक डिभिजनले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले सडक तत्काल खुल्ने सम्भावना कम देखिएकाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
४ असोज २०८२, शनिवार १०:५२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय