काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरू उच्च जोखिम मोलेर खोज, उद्धार तथा राहत कार्यमा निरन्तर खटिरहेका छन्।
बाढीका कारण सडक, पुल, भवन तथा सुरक्षा संरचनासमेत क्षतिग्रस्त बनेका अवस्थामा सुरक्षाकर्मीहरूले आफ्नो ज्यानको समेत पर्वाह नगरी नागरिकको उद्धार तथा सुरक्षा कार्यलाई प्राथमिकता दिएका छन्।
नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा भदौ १० गते बाढी प्रवेश गरेपछि त्यहाँ रहेका ९२३ जना कैदीबन्दीलाई ५२ जना सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए। बाढीले प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट, पर्खाल तथा कैदीबन्दी राखिएको भवनमा लेदोसहित पानी प्रवेश गरिसकेको अवस्थामा पनि सुरक्षाकर्मीले संयमपूर्वक उद्धार कार्य अघि बढाएका थिए।
बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटरसम्म भागेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका थिए। यस क्रममा कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका थिए। उनीहरूले कारागार आसपासका स्थानीय बासिन्दाको सुरक्षामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
बाढीपछि सुरक्षाकर्मीहरूका ब्यारेक र कार्यालयसमेत लेदोमा पुरिएका छन्। पहुँचमार्ग अवरुद्ध हुनुका साथै खानेपानीको व्यवस्थासमेत प्रभावित भएको छ। यस्तो कठिन परिस्थितिमा खेतका आलीलाई बाटो बनाएर टाढाबाट पानी बोकी कैदीबन्दीलाई खुवाउने, बाटो खुलाउने र नियमित ड्युटीमा खटिने सुरक्षाकर्मीको भूमिका उल्लेखनीय देखिएको छ।
१३ हजार ३९१ जनाको उद्धार
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त प्रयासमा बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ।
स्थलमार्ग तथा हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै कतिपय अवस्थामा सुरक्षाकर्मीले घाइते तथा प्रभावित नागरिकलाई आफ्नै काँधमा बोकेर अस्पताल पुर्याएका छन्।
प्रभावित क्षेत्रमा शव व्यवस्थापन, स्वास्थ्य जोखिम न्यूनीकरण, राहत शिविरमा रहेका नागरिकको मनोबल बढाउने, जोखिमपूर्ण क्षेत्रबारे सूचना प्रवाह गर्ने तथा शान्ति सुरक्षा कायम राख्ने कार्यसमेत सुरक्षाकर्मीहरूले गरिरहेका छन्।
नेपाली सेनाको व्यापक परिचालन
बाढीपछि नेपाली सेनाले नुवाकोटको त्रिशूली–बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा फरवार्ड हेडक्वार्टर, इमर्जेन्सी मेडिकल रेस्क्यु टिम तथा फरवार्ड एयर बेस स्थापना गरी उद्धार अभियान सञ्चालन गरिरहेको छ।
त्यस्तै, रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ट्याक्टिकल हेडक्वार्टर, फरवार्ड मेडिकल टिम तथा अतिरिक्त एयर बेस सञ्चालनमा ल्याइएको छ।
कठिन भूगोलमा उद्धार कार्यको नेतृत्व गर्नुका साथै विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा समेत खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। यसमा सशस्त्र प्रहरीको विशेष खोज तथा उद्धार टोली तथा नेपाल प्रहरीको डग टिमसमेत परिचालन गरिएको छ।
आवागमन सहज बनाउन बेलीब्रिज निर्माण तथा अवरुद्ध सडक खुलाउने कार्यसमेत तीव्र पारिएको छ। नुवाकोटको देवीघाटमा नेपाली सेनाका इन्जिनियरहरूले एक्रो ब्रिज जडानको काम गरिरहेका छन्। हाल प्रभावित क्षेत्रमा ९ हजार २८७ जना नेपाली सेना परिचालन भएका छन्।
नेपाल प्रहरी अग्रपङ्क्तिमा
नेपाल प्रहरी सुरुदेखि नै प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, घाइतेको उद्धार तथा शव व्यवस्थापनमा सक्रिय छ। तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी बेपत्ता तथा प्रभावितको खोजी भइरहेको छ।
जोखिमपूर्ण क्षेत्रमा नागरिकलाई निरन्तर सूचना प्रवाह गर्नुका साथै प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरिएको छ। हाल ७ हजार ९७५ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन्।
सशस्त्र प्रहरीको विशेष उद्धार टोली परिचालन
सशस्त्र प्रहरी बल, नेपालले कठिन भूगोल र तीव्र नदी बहावबीच विशेष तालिमप्राप्त गोताखोर, डोरी उद्धार टोली, ड्रोन स्क्वाड तथा केनाइन टोली परिचालन गरेको छ।
प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। स्वास्थ्य सेवा प्रदान गर्नुका साथै नेपाल–चीन सीमा क्षेत्रमा नेपाली झण्डा स्थापनाको कामसमेत गरिएको छ।
हाल प्रभावित क्षेत्रमा ४ हजार २०३ जना सशस्त्र प्रहरी परिचालन भएका छन्।
विपद्को यस कठिन घडीमा सुरक्षाकर्मीहरूले देखाएको साहस, त्याग र सेवाभावका कारण हजारौँ नागरिकले सुरक्षित महसुस गर्न पाएका छन्। आफ्ना सहकर्मीसमेत विपद्मा परेको पीडा बोकेर पनि खोज, उद्धार, शव व्यवस्थापन, सुरक्षा तथा राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मीको योगदानलाई उच्च सम्मानका साथ हेरिएको छ।
सुरक्षाकर्मीलाई संकटको घडीमा आफ्नो कर्तव्यमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति समेत राज्यले आभार व्यक्त गरेको छ। साथै, विपद् व्यवस्थापनमा सुरक्षाकर्मीसँगै खटिएका स्वदेश तथा विदेशका विज्ञ र प्राविधिक टोलीको योगदानको समेत प्रशंसा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय