अश्गाबात, तुर्कमेनिस्तान | १९ साउन २०८२
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय आयोजना अन्तर्गत तेस्रो भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को सम्मेलनमा सहभागी हुन आज तुर्कमेनिस्तानको राजधानी अश्गाबात आइपुगेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डललाई अश्गाबात अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका वरिष्ठ अधिकारी, नेपालका लागि नेपाली दूतावासका प्रतिनिधि र आयोजक समितिका पदाधिकारीहरूले औपचारिक स्वागत गरेका थिए।
सम्मेलनमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरूको समावेशी विकास, अन्तर्राष्ट्रिय व्यापारमा पहुँच, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तनको असर, तथा सहकार्यको आवश्यकता जस्ता विषयमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
यस सम्मेलनमा विश्वका विभिन्न भूपरिवेष्टित राष्ट्रहरूका राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा मन्त्रीहरू, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू र विकास साझेदारहरूको व्यापक उपस्थिति रहनेछ। सम्मेलनले भूपरिवेष्टित राष्ट्रहरूको विशेष अवस्था र चुनौतीहरूलाई सम्बोधन गर्दै भावी सहकार्यका दिशा तय गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलनको साइडलाइनमा विभिन्न राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटघाट तथा सहकार्य विस्तार सम्बन्धी छलफलहरू पनि गर्ने कार्यक्रम छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता