हेटौंडा, मकवानपुर – मकवानपुरमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन्। बुधबार राति करिब ९ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलमा २८ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घटनामा संलग्न गुडिया दासका देवर रमेश दासले आफ्नै दाजु रुपेश दासमाथि पनि आक्रमण गरेका थिए। गम्भीर घाइते भएका रुपेशलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार रुपेशको टाउको, हात, र ढाडमा गम्भीर चोट लागेको छ।
प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार प्रारम्भिक अनुसन्धानमा रमेशले पहिले दाजुमाथि आक्रमण गरेपछि घरका अन्य सदस्यहरूले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए। खोजीको क्रममा गुडिया दास माथिल्लो तलामा मृत फेला परेकी थिइन्। घटना स्थलको ढोका भित्रबाट बन्द रहेको प्रहरीले जनाएको छ।
प्रहरीले रमेश दासलाई नियन्त्रणमा लिइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। हत्याको कारणबारे यकिन विवरण प्राप्त नभएको र अनुसन्धानलाई फरक तरिकाले अघि बढाइने प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।
घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। प्रहरी प्रशासनले दोषीलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ भने घटना पछि हिंसा रोकथामका लागि समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता