छठ पर्वका लागि काठमाडौंको कमलपोखरी विशेष साजसज्जासहित तयार, सांस्कृतिक उत्सवमा श्रद्धालुहरू उत्साहित
काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको ऐतिहासिक कमलपोखरी यस वर्षको छठ पर्वको अवसरमा विशेष साजसज्जासहित आकर्षक ढंगले सुसज्जित गरिएको छ। सूर्य उपासनामा आधारित यो पर्वको विशेषता र सांस्कृतिक महत्वलाई उजागर गर्दै पोखरीलाई झिलिमिली बत्ती र सजावटले सुशोभित बनाइएको छ, जसले स्थानीय तथा बाह्य श्रद्धालुहरूको ठूलो आकर्षण बढाएको छ।
महानगरका विभिन्न वडामा पनि छठ पूजाका लागि आवश्यक तयारी पूरा भइसकेको छ। वडा नं. ८ को गौरीघाट, वडा नं. ११ को वंशीघाट, वडा नं. १३ को धौखेल खोला, वडा नं. १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नं. १६ को बालाजु पार्क, तथा वडा नं. ३२ को कोटेश्वर दोभानमा समेत श्रद्धालुहरूका लागि विशेष व्यवस्था मिलाइएको छ।
धार्मिक परम्पराअनुसार श्रद्धालुहरूले भोलि अस्ताउँदो सूर्यलाई र पर्सि उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। यस क्रममा ब्रतालुहरू पोखरी तथा घाट किनारमा बसेर छठी माताको पूजापाठ र आराधनामा सहभागी हुनेछन्, जसले नेपाली समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ।