ट्रम्पको दाबी: ‘इतिहासकै सबैभन्दा ठूलो अमेरिकी अर्थतन्त्र’, तर २०२६ को मध्यावधि चुनावमा हारको संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र ‘इतिहासकै सबैभन्दा ठूलो’ रहेको दाबी गरेका छन् । शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा उनले वर्तमान अर्थतन्त्र मजबुत बन्दै गएको बताए पनि सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार भोग्न सक्ने सम्भावनाको संकेत गरेका छन् ।

जनवरीमा ह्वाइट हाउसमा पुनः फर्किएका ट्रम्प नेतृत्वको रिपब्लिकन प्रशासनले अमेरिकी अर्थतन्त्र फस्टाउँदै गएको दाबी गर्दै आएको छ । यस क्रममा ट्रम्पले मुद्रास्फीति बढ्नुका लागि आफ्ना डेमोक्रेटिक पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई दोष दिँदै आएका छन् ।

ओभल अफिसमा जर्नलसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “मैले इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र निर्माण गरेको छु, तर मानिसहरूलाई त्यसको अनुभूति हुन केही समय लाग्न सक्छ।” उनले देशभर ठूलो मात्रामा लगानी भइरहेको उल्लेख गर्दै कारखाना, सवारीसाधन उत्पादन केन्द्र, कृत्रिम बौद्धिकता (एआई) लगायतका परियोजनाहरू अघि बढिरहेको बताए ।

यी उपलब्धिलाई मतदाताले कसरी मूल्यांकन गर्नेछन् भन्नेबारे आफू निश्चित नरहेको उल्लेख गर्दै ट्रम्पले भने, “म मेरो काम मात्र गर्न सक्छु।” सन् २०२६ को मध्यावधि चुनाव नजिकिँदै गर्दा उनले मूल्यहरू नियन्त्रणमा रहेको दाबी गरे । “सफल राष्ट्रपति भएका व्यक्तिहरूले पनि कहिलेकाहीँ हार भोगेका छन्,” भन्दै उनले चुनावी परिणाम हेर्न बाँकी रहेको बताए । “हामीले जित्नै पर्छ, तर तथ्यांक हेर्दा यो सजिलो छैन,” ट्रम्पको भनाइ थियो ।

पुनः निर्वाचित भएमा मुद्रास्फीति घटाउने प्रतिबद्धता पूरा गरेको दाबी गर्दै ट्रम्पले केही जनमत सर्वेक्षणमा देखिएको कम अनुमोदन दरलाई अस्वीकार गरेका छन् । युनिभर्सिटी अफ शिकागोले एसोसिएटेड प्रेसका लागि गरेको सर्वेक्षणअनुसार ट्रम्पको आर्थिक व्यवस्थापनलाई अनुमोदन गर्ने अमेरिकी वयस्कहरूको प्रतिशत ३१ मात्र रहेको छ, जुन मार्चमा ४० प्रतिशत थियो ।

यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमार्फत “मुद्रास्फीति बिना देशको इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र बनाउँदा कहिले श्रेय पाइन्छ?” भनी प्रश्न गरेका छन् । बाइडेनको कार्यकालमा बढेको मुद्रास्फीति ट्रम्प सत्तामा फर्किएपछि केही समय सुस्त भए पनि अप्रिलदेखि फेरि तीव्र भएको बताइएको छ ।

प्रतिक्रिया