सिड्नी, अस्ट्रेलिया – समुद्री आँधी ‘अल्फ्रेड’ को असरले अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। उच्च वर्षासँगै आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ भने १३ जना सैनिक घाइते भएका छन्। आँधीले करिब ३ लाख ३० हजार घरधुरीलाई विद्युतविहीन बनाएको छ।
स्थानीय प्रशासनका अनुसार बाढीले एक ६१ वर्षीय पुरुषको ज्यान लिएको छ। उनी आफ्नो कारसहित बाढीमा बगेर बेपत्ता भएका थिए, र पछि उनको शव भेटिएको हो। उद्धारका लागि खटिएका सैनिकहरू चढेको ट्रक चिप्लिएर दुर्घटनामा परेको र अर्को ट्रक ठोक्किँदा १३ जना सैनिक घाइते भएका छन्।
ब्रिसबेनमा असर पर्ने सम्भावना
अल्फ्रेड आँधीले नेपालीहरूको उल्लेख्य बसोबास रहेको ब्रिसबेन मा समेत प्रभाव पार्ने अनुमान गरिएको छ। मौसम विभागका अनुसार शनिबारसम्म यो आँधी भित्री भूभागमा प्रवेश गर्नेछ, जसका कारण क्विन्सल्यान्ड र न्यू साउथ वेल्सका ४० लाख मानिसहरू जोखिममा छन्।
बिजुली आपूर्तिमा समस्या
ऊर्जा वितरण कम्पनी इनर्जेक्सका अनुसार उत्तरपूर्वी क्विन्सल्यान्डमा २ लाख ८७ हजार घरहरूमा बिजुली अवरुद्ध भएको छ भने इसेन्सिअल इनर्जीका अनुसार न्यू साउथ वेल्समा ४२ हजार घरहरू बिजुलीविहीन बनेका छन्।
प्रधानमन्त्रीको अपिल
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजी ले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छन्। उनले विशेष गरी गोल्ड कोस्ट क्षेत्रमा अझै ठूलो खतरा बाँकी रहेको भन्दै उद्धार तथा सुरक्षाका उपायहरू कडाइका साथ लागू गर्न निर्देशन दिएका छन्।
डुबान, भग्नावशेष, र अवरुद्ध सडकहरू
स्थानीय बासिन्दाहरूले रातभर ठूलो आँधीको त्रासमा समय बिताएका थिए। बाढीका कारण विभिन्न होचा क्षेत्रहरू डुबानमा परेका छन्। बिजुलीका प्रसारण लाइनहरू भत्किएका छन्, सयौँ रुखहरू ढलेका छन्, र मुख्य सडकहरू अवरुद्ध बनेका छन्।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा रहेका नागरिकहरूलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। उद्धार टोलीहरू खटिइरहे पनि अवस्था अझै सामान्य हुन समय लाग्ने अनुमान गरिएको छ।
(अधिक जानकारीका लागि प्रतीक्षा गर्नुहोस्)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता