अलास्कामा भएको भेटपछि ट्रम्पले जेलेन्स्कीलाई पुटिनका माग सुनाए


वासिङ्टन डिसी, अगस्ट १७, २०२५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति प्रक्रियासम्बन्धी छलफलका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेका प्रमुख मागहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जानकारी गराएका छन्।


अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र पुटिनबीच शनिबार अमेरिकाको अलास्कामा करिब तीन घण्टा लामो वार्ता भएको थियो। त्यसपछि ट्रम्पले टेलिफोनमार्फत जेलेन्स्कीलाई सो छलफलको विवरण बताए।


छलफलमा पुटिनले युक्रेनले सम्पूर्ण दोनेत्स्क प्रान्त त्याग्न तयार भए रूसले फ्रन्टलाइन स्थिर राख्ने प्रस्ताव गरेको जनाइएको छ। दोनेत्स्क क्षेत्रलाई मस्कोले आफ्नो मुख्य लक्ष्य बनाएको छ।


राष्ट्रपति जेलेन्स्कीले भने सो प्रस्ताव ठाडै अस्वीकार गर्दै युक्रेन आफ्नो भूभाग छोड्न नसक्ने पुनः दोहोर्‍याएका छन्। उनले रूसले युक्रेनका पाँच प्रदेशमध्ये केही अंश पहिल्यै कब्जा गरिसकेको र दोनेत्स्कको एक चौथाइ भूभाग समेत नियन्त्रणमा लिइसकेको उल्लेख गरेका छन्।


ट्रम्पले युक्रेनलाई स्थायी शान्तिका लागि सम्झौता गर्न आवश्यक रहेको टिप्पणी गर्दै भनेका छन्,

“युक्रेनले सम्झौता गर्नुपर्छ। किनभने रूस अत्यन्त शक्तिशाली छ, युक्रेन छैन।”


यसै क्रममा, ट्रम्पले जेलेन्स्कीलाई वाशिङ्टन डिसी बोलाएका छन्। सोमबार हुने भेटमा एक युरोपेली नेता पनि सहभागी हुने जनाइएको छ। उक्त छलफलपछि पुटिनसहित त्रिपक्षीय वार्ताको सम्भावना रहेको संकेत गरिएको छ।


पुटिनले आगामी त्रिपक्षीय वार्ता मस्कोमा हुनुपर्ने अभिव्यक्ति दिएका छन् भने ट्रम्पले त्यसलाई असम्भव नभएको बताएका छन्।

प्रतिक्रिया