स्थानीय तहसंग डिभिजन वनको समन्वय गोष्ठी ,जलवायुको चिन्ता

जोमसोम—‘विकास र वातावरणबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यले आईतबार जोमसोममा समन्वय गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय मुस्ताङको आयोजना तथा घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा स्थानीय तह समन्वय गोष्ठीको आयोजना गरिएको हो ।

 गोष्ठीमा कार्यक्रमको उद्देश्य माथि डिभिजन वन कार्यालय मुस्ताङका कार्यालय प्रमुख बिष्णुप्रसाद अधिकारीले प्रकाश पारे ।सो अवसरमा कार्यालयले गत आर्थिक वर्ष संञ्चालन गरेका र चालु आर्थिक वर्षका कार्यक्रमका बारेमा सरोकारवालाहरुलाई प्रस्तुतीकरण मार्फत जानकारी दिईएको थियो । कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीको समेत उपस्थिती रहेको थियो ।

विकास तथा वातावरणका बिषयमा सरोकारवालाहरुबीच छलफल चलेको थियो । गोष्ठीमा जलवायु परिवर्तनको असरले पारिस्थितीक प्रणाली , जैविक विविधता,पशुपालन,कृषि, पर्यटन क्षेत्र र विकास मोडलमा परेका नकारात्मक प्रभावको बिषयमा प्रश्न उठे । दीगो विकास र वातावरण अनुकुलीत हुने गरी कार्यक्रम योजनाहरु छनौट हुनुपर्ने सरोकारवालाहरुले सुझाए ।

  अवैज्ञानिक ढंगले विकासका कामहरु गर्दा जलवायु संकट निम्तिएको सरोकारवालाहरुले ठम्याए । डिभिजन वन कार्यालयले वातावरण संरक्षणका लागि गर्ने कार्यक्रममा स्थानीयको व्यवसायिकता समेत जोडिनु पर्ने बताए ।

कार्यक्रममा जिसस उपप्रमुख आईतेलाल थकाली, वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङ र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मन्तब्य दिएका थिए । 

कार्यक्रममा घरपझोङका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि,एक्याप,संरक्षण व्यवस्थापन समिति र पत्रकारहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया