अधिवक्ता विष्णु गिरीले कानूनी साक्षरता अभियान सञ्चालनको माग

काठमाडौं। देशभरका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको अधिवक्ता विष्णु गिरीले बताएका छन्। उनले कानूनका आधारभूत पक्षबारे जनतालाई जानकारी गराएर कानूनी शिक्षा अभावले उत्पन्न हुने समस्याहरू न्यून गर्न सकिने धारणा व्यक्त गरेका छन्।


उनका अनुसार ज्यान सम्बन्धी अपराध, करणी, विवाह, अपहरण, शरीर बन्धक, बोक्सीको आरोप, छुवाछूत र भेदभावजस्ता विषयमा स्थानीय बासिन्दालाई जानकारी दिनु अपराध न्यूनीकरणमा प्रभावकारी हुनेछ। साथै, अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस र लिखत पारितजस्ता मुद्दामा समेत जनतालाई कानूनी साक्षरता आवश्यक रहेको उनले बताए।


गिरीले भने, “कानूनको अज्ञानता क्षम्य नहुने सिद्धान्त अनुसार प्रत्येक नेपालीले कानूनबारे ज्ञान राख्नुपर्छ। कानून नजान्ने बहानामा गल्ती माफी हुन सक्दैन। यसकारण कानूनी साक्षरता अभियानले जनता र राज्य दुवैलाई फाइदा पुग्नेछ।”


कानूनका जानकार र मेलमिलापकर्ताका रूपमा परिचित गिरीले विभिन्न संघसंस्थाद्वारा आयोजित तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन्। कानूनी लेख तथा अन्तरवार्तामार्फत जनचेतना फैलाउन सक्रिय गिरीले पत्रकारितामा लामो अनुभव समेत हासिल गरेका छन्।


उनी स्थानीय निकायहरूसँग सहकार्य गर्दै कानूनी साक्षरता अभियानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिन्छन्। जनसरोकारका मुद्दाहरूमा सफलता हासिल गरेका गिरीले आउँदा दिनमा कानूनी साक्षरतालाई थप प्रभावकारी बनाउन कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेको जनाएका छन्।

प्रतिक्रिया