भारतीय दुताबासले लोमान्थाङमा गुम्बा र स्कुलको दुई आवासीय भवन बनाउन ६ करोड ९७ लाख अनुदान दिने

जोमसोम—भारतीय राजदुतावासले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत पर्ने एक गुम्बा र एक सरकारी विद्यालयको आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख अनुदान सहयोग गर्ने भएको छ ।लोमान्थाङ—१ स्थित निफुक  नर्वुलिङ गुम्बाको आवासीय भवन र लोमान्थाङ—२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको आावासीय भवन निर्माणका लागि उक्त अनुदान दिने भएको हो ।

लोमान्थाङ—१ को निफुक नर्वुलिङ गुम्बा आवासीय भवनका लागि ४ करोड ४० लाख र दिव्य दीप विद्यालयको आवासीय भवनको लागत ४ करोड ३२ लाख लागत अनुमान गरिएको छ । जसमध्ये गुम्बा र स्कुलको आवासीय भवन निर्माण गर्न लोमान्थाङ गाउँपालिकाले २०  प्रतिशत र भारतीय दुतावासले ८० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने गरी मंगलबार काठमान्डौंमा सम्झौता भएको लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए ।

 भारतीय दुतावासको सहयोग बन्ने दुई आवासीय भवनको कुल लागत ८ करोड ७२ लाख रहेपनि लोमान्थाङ गाउँपालिकाले सम्झौता मुताविक १ करोड ७४ लाख ४० हजार व्यवहोर्ने  गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यक्षको भनाई छ ।

भारतीय दुतावासको आर्थिक सहयोगमा निर्माण गरिने दुई आवासीय भवनको पूर्वाधारका लागि त्रिपक्षिय सम्झौता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । भारतीय दुतावासका तर्फबाट प्रथम सचिव करुण बन्सेल ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

भारतीय दुताबासको सहयोगमा निर्माण गरिने दुई आवासीय भवन निर्माणको काम १५ महिनामा सक्ने गरी समय निर्धारण भएको हो । मुस्ताङमा हिउँदयाम सुरु भएसंगै चिसो बढेको र जाडो सकिए लगत्तै भवन निर्माणको काम सुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

 मुस्ताङमा भारतीय राजदुतावास सहयोगमा विगतदेखिनै शैक्षिक पूर्वाधार गुम्बाहरुको पूर्वाधार, एम्बुुलेन्स आदीमा सहयोग गर्देआईरहेको छ । यसैगरी मुस्ताङमा अमेरिकी राजदुतावासको आर्थिक सहायता कोषबाट पनि गुम्बा भवन र शैक्षिक क्षेत्रमा लगानी हुँदै आईरहेको छ ।


प्रतिक्रिया