नेपाल राष्ट्र बैंक आज दोस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा आज साँझ सार्वजनिक गर्ने भएको छ। समीक्षा सार्वजनिक गर्नुअघि साँझ ५ बजे राष्ट्र बैंकको बोर्ड बैठक बस्नेछ, जसले अनुमोदन गरेपछि समीक्षा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।


राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यका अनुसार, गभर्नर महाप्रसाद अधिकारीले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरता कायम गर्न नीतिगत लचकता अपनाउने संकेत गरेका छन्। यसै क्रममा, बैंकिङ क्षेत्रका लागि लागू गरिएका केही नीतिहरूमा संशोधन गर्ने सम्भावना रहेको छ।


गभर्नर अधिकारीले समीक्षाअघि बैंकरहरूसँग परामर्श लिएका थिए। बैंकिङ क्षेत्रमा आवश्यक सुधारका लागि केही नीति परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ब्याजदर वृद्धिको सम्भावनालाई लिएर निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ।


गभर्नर अधिकारी आगामी चैत २५ गते अवकाशमा जाँदै छन्। त्यसैले, यो उनको कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा हुनेछ। आर्थिक स्थायित्व र लगानी प्रवर्द्धनका दृष्टिले यो समीक्षाले महत्वपूर्ण असर पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया