भदौ २४ को आन्दोलनमा सहभागी निर्देशक निश्चल बस्नेत विवादमा


सम्वाददाता: आमा दर्शन न्यूज

काठमाडौं । निर्देशक निश्चल बस्नेत भदौ २४ गतेको आन्दोलनमा सहभागी भएको भिडियो सार्वजनिक भएपछि उनी अहिले सामाजिक सञ्जालमा आलोचनाको केन्द्र बनेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा निश्चल संसद् भवनअगाडि आन्दोलनकारीहरूसँग उभिएका देखिन्छन्। उनी राष्ट्रिय झण्डा ओढेका छन् र आन्दोलनकारीहरूले उनीसँग सेल्फी खिचिरहेका छन्। भिडियोमा उनी ‘यो नयाँ युगको सुरुआत हो, जेनजी पुस्ताले गरेर देखाएको छ’ भन्दै आन्दोलनकारीहरूलाई धन्यवाद दिइरहेको देखिन्छ।

उनीसँग आन्दोलन र आगजनीबारे प्रतिक्रिया माग्दा पनि केही बोलिरहेका छन्, तर भीडको आवाजका कारण सबै कुरा स्पष्ट सुन्न सकिँदैन।

उनीमाथि “आन्दोलनमा सहभागी युवालाई उक्साएको” आरोप लागेपछि केही दर्शकहरूले सामाजिक सञ्जालमा अब उनका चलचित्र नहेर्ने बताएका छन्। केहीले उनलाई “सरकारी सम्पत्ति जलाउन प्रेरित गरेको” भन्दै आलोचना गरेका छन्।

तर, निर्देशक बस्नेतले यी आरोपको खण्डन गरेका छन्। उनले फेसबुकमार्फत लेख्दै आफूले ढुंगा हानेको वा आगजनी गरेको कुनै प्रमाण छैन भन्दै प्रमाणित गर्न चुनौती दिएका छन्।

उनले लेखेका छन्, “मैले कतैपनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पष्ट हुन्छ।”

बस्नेतले आन्दोलनमा सहभागी भएको स्वीकार गर्दै भनेका छन्, “म आन्दोलनमा गएको हो, भ्रष्टाचारको विरोध गरेको हो। मसँग फोटो र भिडियो खिच्न दाजुभाइ–दिदीबहिनी आएका हुन्।”

उनले भिडियोमा आफू अनुकूल क्याप्सन राखेर भ्रम फैलाउनेहरूले गलत सूचना दिइरहेको आरोप लगाएका छन्।

निश्चल बस्नेत काठमाडौं महानगरका मेयर बालेन शाहका खुलेआम समर्थक मानिन्छन्। उनले भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्।

प्रतिक्रिया