मुस्ताङमा दशैपछि ६० हजार पर्यटक

जोमसोम— दशैंपछिको एक सातामा  ६० हजार पर्यटक मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । बडा दशैंको टिका सकिएलगत्तै मुस्ताङमा पर्यटकीय चहल÷पहल सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले दशैंपछिको समय दैनिक औसत १० हजारको हाराहारीमा पर्यटक मुस्ताङ भित्रिएको बताएको छ ।

सामान्य अवस्थामा दैनिक ५÷७ सय पर्यटक आउने मुस्ताङमा दशैं पर्वको छेको पारेर अकल्पनीय रुपमा पर्यटक मुस्ताङ ओईरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । मुस्ताङ आएका पर्यटक मध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत बाह्य पर्यटक रहेको प्रहरी नायव उपरीक्षक पाण्डेको भनाई छ ।‘हाम्रो रेकर्डमा दशैंपछि६० हजार पर्यटक मुस्ताङ आएको देखिएको छ, यो अनुमान दैनिक १० हजारको औसत हो,प्रहरी नायव उपरीक्ष पाण्डेले भने,‘ सोमबार देखि केही पातलिएको छ,तर,पर्यटक आउने क्रम  रोकिएको छैन ।’

यसैगरी मुस्ताङ भ्रमणमा आएका पर्यटक मध्ये २० प्रतिशतले उत्तरी कोरलानाकाको भ्रमण गरेका छन् ।कोरलाको नेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट चेक पोष्टले दशैंपछिको ७ दिनमा १२ हजार पर्यटकले कोरलानाकाको अवलोकन गरेको बीओपी ईञ्चार्ज भीमबहादुर क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया