काठमाडौं — निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने अधिकांश राजमार्गमा सवारीसाधन रोकिएका छन्।
नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै धादिङ र मकवानपुरतर्फ जाने सडकखण्डमा अर्को आदेश नआएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको जानकारी दिएको छ।
त्यस्तै, पहिरोका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
पहिरोको जोखिम उच्च बनेपछि बीपी राजमार्गमा असोज २१ गतेसम्म प्रत्येक साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलो नजिकैको अरनिको राजमार्गको केही भाग भासिएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति पुर्याएको र यातायात सेवा प्रभावित भएको जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्म देशका धेरै भागमा वर्षा जारी रहने सम्भावना औंल्याउँदै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार