साउन १८, सिन्धुली/जिल्लाको कमलामाई नगरपालिकाको माढिबजारमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामानहरु शुक्रबार नष्ट गरिएको छ । कमलामाई–५ सिलामेस्थित डम्पिङ साइटमा ती सामानहरु नष्ट गरिएको हो ।
सिन्धुलीमाढी स्थित कृषि उपज बजार र स्टल बजारको खाद्यान्न पसलमा आज अनुगमन गरिएको थियो । सिन्धुलीका साहायक जिल्ला अधिकारी कृष्णमणी ढकालको नेतृत्वमा गरिएको बजार अनुगमनमा कूल ३० हजार २४० रुपैयाँ बराबरका सामान म्याद नाघेको पाइएकोले जफत गरी नष्ट गरिएको हो ।
अनुगमनका क्रममा कमलामाई नगरपालिका–६ स्थित डिआर तरकारी पसलबाट मेथी २ प्याकेट र मिट मसला ४० प्याकेट म्याद नाघेको पाइएकोले जफत गरिएको थियो ।
यसैगरी सोही वडाको कविता किराना पसलबाट टि–२० र किसमिस, शुभलक्ष्मी खाद्यन्न पसलबाट जिरा र गरम मसला, राहुल फुड एण्ड खाद्यान्न स्टोर्सबाट चकलेट, गुलाव जामुन, गुड लाइफ बिस्कुट, वरासी, सुशनी फलफूल पसलबाट बिस्कुट, पापड, चिकेन सुप, चिउरा, दालमोठ, मिना किराना पसलबाट तेल, वनस्पति, घिउ तथा खुसी भेजिटेबल तथा खाद्यान्नबाट सोया ससस र पापड म्याद गुज्रिएको पाइएको नगरपालिकाले जनाएको छ । ती सबै सामान जफत गरी नष्ट गरिएको हो ।
अनुगमनमा उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुब प्रसाद ढकाल, कल्पना श्रेष्ठ,करदाता सेवा कार्यालय सिन्धुलीका रुपा तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका विक्रम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।