कीर्तिपुरका कविन्द्र महर्जन काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित




कीर्तिपुर । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्ष पदमा कीर्तिपुर नगरपालिका–१ निवासी कविन्द्र महर्जन निर्वाचित भएका छन्।


किसान परिवारबाट आफ्नो जीवनयात्रा प्रारम्भ गरेका महर्जनले इमानदारी, मेहनत र निरन्तर संघर्षका माध्यमबाट निर्माण व्यवसायमा विशिष्ट पहिचान स्थापित गरेका छन्। “नेतृत्व पदले होइन, सेवा, इमानदारी र दूरदृष्टिले चिनिन्छ” भन्ने मान्यतालाई व्यवहारमा उतार्दै उनी लामो समयदेखि निर्माण व्यवसाय, सामाजिक सेवा तथा संस्थागत नेतृत्वमा सक्रिय रहँदै आएका छन्।


महर्जन कविन्द्र निर्माण सेवा कम्पनी प्रा.लि. का संस्थापक हुन्। निर्माण व्यवसायसँगै उनी विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। साथै, कीर्तिपुर विकास समाज र कीर्तिपुर निर्माण व्यवसायी संघ का सल्लाहकारको जिम्मेवारी पनि सम्हालिरहेका छन्।


उनी काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएपछि उनको नेतृत्वमा संस्था अझ सशक्त, एकताबद्ध, पारदर्शी र परिणाममुखी बन्ने विश्वास व्यक्त गरिएको छ। निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा संस्थागत विकासमा उनले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


महर्जनको निर्वाचनसँगै कीर्तिपुरवासीमा उत्साह छाएको छ। कीर्तिपुरका विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी तथा शुभेच्छुकहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया