नवलपरासी पूर्व, ३० भदौ: नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीभित्र बेहोस भएर लडेका तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, बिनय त्रिवेणी गाउँपालिका-७ का ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी, र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-७ का २८ वर्षीय मोहम्द राजाको मृत्यु भएको हो।
घटना शुक्रबार बिहान ११ बजेतिर भएको थियो। उनीहरू वडा नम्बर ७ का भोलासिंह क्षेत्रीको घरमा सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा बेहोस भएका थिए। घटनापछि तुरुन्तै उपचारको लागि अस्पताल लगिए पनि तीनै जनाको ज्यान बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिएका छन्।प्रकाशसिंह क्षेत्री उक्त सेप्टिक ट्यांकीका मालिक भोलासिंह क्षेत्रीका छोरा भएको जानकारी प्राप्त भएको छ।
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको बताइएको छ।
१४ भदौ २०८१, शुक्रबार ०५:१० मा प्रकाशित