काठमाडौं, १ माघ – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल सरकारले ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ अर्ब रुपैयाँले बढी हो। प्रतिशतका आधारमा हेर्दा राजस्व संकलनमा १३% वृद्धि भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा यो वर्षको संकलन त्यसलाई पार गरेको हो। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। तर, पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकिएको छ, जुन वार्षिक लक्ष्यको ४०% हो।
६ महिनामा ६ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म ८४% मात्र पूरा भएको छ। पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो वृद्धिलाई सकारात्मक संकेतका रूपमा लिँदै लक्ष्यअनुसार राजस्व संकलनमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार चालु आर्थिक वर्षमा बाढीपहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, विद्युतीय सवारी साधनको आयातमा वृद्धि, र दुरसञ्चार क्षेत्रमा देखिएको प्रभाव जस्ता कारणले केही चुनौतीहरू देखिए पनि राजस्व संकलन उल्लेखनीय रहेको छ।
नेपालको अर्थतन्त्रको सुधारको संकेतका रूपमा राजस्व वृद्धिलाई लिइएको छ। अब सरकारले बाँकी अवधिमा लक्ष्य प्राप्तिका लागि नयाँ रणनीति र सुधारात्मक उपाय अपनाउने बताइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़