हरिसिद्धीमा मन्त्री सवार सरकारी गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते

ललितपुर, भदौ २१ –शनिबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित माध्यमिक विद्यालय अगाडिको मुख्य सडकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले ११ वर्षीया बालिका उषा मगर सुनुवारलाई ठक्कर दिएको घटना सार्वजनिक भएको छ।


घटना सीसीटिभी फुटेजमा समेत कैद भएको छ, जसमा जेब्रा क्रसिङ नजिक बाटो काट्न लागेकी बालिकालाई ठक्कर दिँदै गाडी अघि बढेको देखिन्छ। ठक्करबाट बालिका सडकमा पछारिएकी थिइन् भने नजिकै रहेकी एक महिलाले उनलाई उठाएर सुरक्षित स्थानमा पुर्याएको दृश्य समेत भिडियोमा देखिन्छ।


घाइते बालिकालाई तत्कालै उपचारका लागि बिएन्डबी अस्पताल लगिएको छ। ललितपुर प्रहरीले मन्त्री सवार गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ।


यस घटनाप्रति प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया दिँदै “घटना सामान्य होस्, राजनीतिकरण नगरौं” भन्दै पार्टीले बालिकाको सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा गरेका छन्। उनले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भविष्यमा यस्ता घटना नदोहोरिनुपर्नेमा जोड दिएका छन्।


तर, प्रधानमन्त्री ओलीको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बनेको छ। सर्वसाधारणले बालिकाको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने र मन्त्रीसहित सरकारी गाडी चालकले कानुनी जवाफदेहिता निर्वाह गर्नुपर्ने माग गरेका छन्।


विशेषज्ञहरूका अनुसार यो घटनाले नेपालमा सडक सुरक्षा, बालबालिकाको सुरक्षा र सार्वजनिक पदाधिकारीहरूको उत्तरदायित्व विषयमा नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया