भक्तपुर।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ देशकै सर्वाधिक चासोको केन्द्र बनेको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बसोबास रहेको क्षेत्र र पार्टी सचिव महेश बस्नेतको गृहनगरसमेत भएकाले यहाँको चुनावी सरगर्मीलाई विशेष ध्यानका साथ हेरिएको छ।
गत भदौको जेन–जी आन्दोलनपछि पदमुक्त भएका ओलीलाई गुण्डुमा सुरक्षित रूपमा भौतिक पुनरागमन गराउने अभियानमा अग्रभूमिकामा देखिएका बस्नेत एमालेभित्र प्रभावशाली नेताका रूपमा स्थापित भए पनि जनताबाट पुनः अनुमोदित हुने–नहुने विषय अझै परीक्षणमै छ।
यस क्षेत्रमा बस्नेत उम्मेदवार बनेपछि उनको जित–हारलाई एमालेको समग्र राजनीतिक लाइनको जनपरीक्षणका रूपमा समेत हेरिएको छ। झापामा ओली र भक्तपुर–२ मा बस्नेतको परिणामले पार्टीको रणनीति सही कि गलत भन्ने सन्देश दिने आम बुझाइ छ।
पार्टी सचिव पद पाइसकेका बस्नेत अब चुनाव जितेर सरकारमा मन्त्री बन्ने आकांक्षासहित मैदानमा उत्रिएका छन्। तर उनले अँगालेको राजनीतिक मार्ग जनमतको कसीमा उत्तीर्ण हुन्छ कि हुँदैन, त्यो निर्वाचन परिणामले नै तय गर्नेछ।
सरसर्ती हेर्दा भक्तपुर–२ मा कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। यस क्षेत्रमा १७ राजनीतिक दल र १५ स्वतन्त्र गरी ३२ जना उम्मेदवार चुनावी मैदानमा छन्। दलहरूबीच कुनै औपचारिक गठबन्धन नभएकाले परिणाम अनुमान गर्न झन् पेचिलो बनेको छ।
अघिल्लो निर्वाचनमा झिनो मतान्तरले कांग्रेसका दुर्लभ थापा विजयी भएको यस क्षेत्रमा कांग्रेसले यसपटक कविर राणालाई उम्मेदवार बनाएको छ। एमालेले पार्टी सचिवसमेत रहेका महेश बस्नेतलाई नै पुनः मैदानमा उतारेको छ।
०७४ सालमा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै संसद् पुगेका बस्नेत २०७९ मा थापासँग पराजित भएका थिए। यहाँको रोचक पक्ष के छ भने ०४८ सालयता यो क्षेत्रले कसैलाई पनि लगातार म्यान्डेट दिएको छैन।
अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले रमेश वैद्य, चौथो मत ल्याएको रास्वपाले राजीव खत्री, पाँचौँ स्थानको राप्रपाले विक्रम थापालाई उम्मेदवार बनाएको छ। नेकपाले केन्द्रीय सदस्य तथा वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई अघि सारेको छ।
अन्य उम्मेदवारमा आम जनता पार्टीकी देवकुमारी साह, उज्यालो नेपाल पार्टीका जितराम लामा, नेपाली पार्टीका राजेश बाडे, मंगोल नेसनल अर्गनाइजेसनका पेम्बा घले, श्रम संस्कृति पार्टीका अर्जुन वासु, जसपा नेपालका नवीन श्रेष्ठ, नेकपा (माओवादी) का प्रकाशराज ढुंगेल, त्रिमूल नेपालका राकेश श्रेष्ठ र नेकपा संयुक्तका लोककृष्ण दाहाल लगायत रहेका छन्।
कांग्रेस विशेष महाधिवेशनपछिको आन्तरिक तरंगलाई साम्य पार्दै अघिल्लो जितलाई निरन्तरता दिने रणनीतिमा जुटेको छ। संगठन र मनोवैज्ञानिक बल कांग्रेसको मुख्य शक्ति मानिएको छ।
बस्नेत भने अघिल्लो पराजयबाट पाठ सिकेर परिणाम आफ्नो पक्षमा पार्ने तयारीमा छन्। रास्वपाले देशभर देखिएको परिवर्तनको माहोललाई मतमा बदल्ने प्रयास गरिरहेको छ। पत्रकार पृष्ठभूमिका राजीव खत्रीलाई अघि सार्दै पार्टीले योजनाबद्ध प्रचार थालेको छ। नेकपाले युवामाझ नयाँ अनुहार सापकोटालाई स्थापित गर्ने रणनीति लिएको जनाएको छ।
संयोग के छ भने बस्नेतका मुख्य प्रतिस्पर्धीमध्ये धेरैजसो पत्रकार पृष्ठभूमिकै छन्। कांग्रेसका कविर राणा, रास्वपाका राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीका जन्मदेव जैशी र नेकपाका सापकोटा सबै पत्रकारितासँग जोडिएका व्यक्ति हुन्।
भक्तपुर–२ मा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँच जना अन्य गरी कुल ९८ हजार ३५६ मतदाता छन्। यहाँ ३९ मतदान स्थल र ११४ मतदान केन्द्र रहेका छन्।
कांग्रेसले सामाजिक समावेशिता र स्थानीय विकास, एमालेले पूर्वाधार र राष्ट्रिय नेतृत्वसँगको सम्बन्ध, रास्वपाले नयाँ शक्तिमाथि विश्वास, र नेमकिपाले विचार र संगठनलाई मुख्य एजेन्डा बनाएका छन्। राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा अघि सारेको छ।
चुनावी माहोल तातेसँगै आरोप–प्रत्यारोप तीव्र बन्दै गएका छन्। सामाजिक सञ्जालमार्फत प्रचार बढ्दो छ भने घरदैलो अभियान औपचारिक रूपमा सुरु नभए पनि प्रत्यक्ष भेटघाट तीव्र बन्दै गएको छ।
समग्रमा, भक्तपुर–२ को निर्वाचन केवल एक सिटको प्रतिस्पर्धा मात्र नभई राजनीतिक सन्देशको लडाइँका रूपमा हेरिएको छ। सानो मतान्तरले नतिजा उल्टिन सक्ने सम्भावनाले यस क्षेत्रको चुनाव थप रोचक बनेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार