जोमसोम—अघिल्लो जनप्रतिनिधिहरुको कार्यकालमा निर्माण सुरु गरिएको मुस्ताङको दुई वटा रिङरोड ४ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन ।मुस्ताङको घरपझोङ रिङरोड सडक र लोमान्थाङ रिङरोड सडकको काम निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण सम्पन्न हुन नसकेको हो ।
गण्डकी प्रदेश अन्तर्गत तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारको पालामा ‘एक निर्वाचन क्षेत्र, एक रणनितिक महत्वको सडक’ अन्तर्गत लोमान्थाङ र घरपझोङ गाउँपालिकामा रिङरोड सडक निर्माण सुरु गरिएका े थियो । यी दुबै रिङरोड सडकको चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि ५ औं पटक सम्झौता म्याद थप लम्ब्याईएको हो । सरकारको सार्वजनिक खरिद ऐन बाह्रौ संशोधन प्रावधानको बाधा अड्काउ फुकाउको मापदण्डमा रहेर पूर्वाधार विकास कार्यालयले यी दुबै रिङरोड सडकको ५ औं पटक म्याद थप गरेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका जोमसोम,ठिनी,ढुम्बा,सम्ले,छैरो,स्याङ र मार्फा जोड्ने रिङरोड सडकको पछिल्लो भौतिक प्रगती ६२ प्रतिशत मात्र छ । २०७६ साल कार्तिक २१ गते सम्झौता भएको १०दशमलव ५ किमी लामो घरपझोङ रिङरोड सडकको २१ करोड ४३ लाखमा एमएस वन्दना भगवती जेभी कन्टक्सनले सम्झौता गरेको थियो । पूर्वाधार विकास कार्यालय मुस्ताङले हेर्नेगरी सुरु गरिएको घरपझोङ रिङरोड वहुवर्षीय योजना भएपनि निर्माण कम्पनीको ढिलासुस्तीले सम्झौता अवधि सकिएको ३ वर्ष बितिसक्दा समेत काम आधा मात्र प्रगती भएको हो । यो रिङरोड सडक २०७७ माघ ६ गते १५ महिनामा सकिनु पर्ने थियो ।
घरपझोङ रिङरोड सडकको १० दशमलव ५ किमी सडक ट्याक ओपन,नालीसहित ८ मिटर चौडा गरिएको भएपनि अन्य कार्यहरु विगत ६ महिनादेखि ठप्पै बनेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोक्कामगरले जानकारी दिए । उनका अनुसार सडकको ५ किमी दुरी जोमसोम—ढुम्बासम्म प्रिमिक्स कालोपत्रे गर्नुपर्ने र ५ दशमलव ५ किमी दुरीमा ग्रोभल सडक विस्तार गर्नुपर्ने थियो । निर्माण कम्पनीले सडक ट्याक खोलेपनि सडक स्तरोन्नतिको अन्य काममा पुरै वेवास्ता गरेको हो ।पूर्वाधार विकास कार्यालयले पटक पटक काममा फर्किन ताकेता गरेपनि निर्माण कम्पनीले तत्काल काम गर्न छेकछन्द देखाएका छैनन् ।
रिङरोड अन्तर्गत जोमसोम—ढुम्बा सडक कालोपत्रे भएमा ढुम्बा ताल जाने पर्यटकलाई आउजाउमा निकै सहज हुने थियो ।
यसैगरी २०७६ साल असार २६ गते सम्झौता भएको लोमान्थाङ रिङरोड सडक निर्माण कम्पनीको चरम ढिलासुस्तीका बावजुद अन्ततः अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रोक्कामगरले उल्लेख गरे ।गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनितिक महत्वको लोमान्थाङ,ठिङ्गर,किमलिङ,चुमजुङ,न्याम्डो, हुँदै नेचुङ जोड्ने रिङरोड सडकको सम्झौता अवधि दुई वर्ष तोकिएपनि म्याद सकिएको २ वर्ष बितिसक्दा पछिल्लो भौतिक प्रगती ९० प्रतिशत पुगेको कार्यालयका सूचना अधिकारी रोक्कामगरले जानकारी दिए ।
लोमान्थाङ को १,३ र ५ वडा जोड्ने १० दशमलव ५ किमी लम्बाई र ८ मिटर नालीसहित चौडा रिङरोड सडकको ईमोटल कन्टक्सन प्रा.लि.ले २४ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।अघिल्लो जनप्रतिनिधिहरुकै कार्यकालमा सकिनु पर्ने रिङरोड सडक जेनतेन अन्तिम चरणमा पू¥याएको हो । यो सडकमा निर्माण कम्पनीले सम्झौता अनुसारको गुणस्तर मापदण्ड कायम नगरेको स्थानीय जनप्रतिनिधिहरुले आरोप लगाएका थिए । सडक निर्माण ढिलासुस्ती हुँदा पूर्वाधार विकास कार्यालयले ठेक्का मोबिलाईजेसन वातप लिएको ९७ लाख निर्माण कम्पनीबाट फिर्ता लिएको थियो ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रोक्कामगरले लोमान्थाङ रिङरोड सडकको काम संञ्चालन भईरहेको बताए । उनले रिङरोडका लागि फिनिसिङका कामहरु बाँकी रहेको र चालु आर्थिक वर्ष भित्रै सक्ने गरी कामले तिब्रता पाएको उल्लेख गरे ।
रिङरोडको अवधारण अनुसार लोमान्थाङको वडा ३ र ४ लाई पनि सडक कनेक्टिभिटीले जोड्न आवश्यक देखिन्छ ।