नेपाली साहित्य जगतमा रत्नप्रसाद अनामणि श्रेष्ठ एक नौलो नाम होईन् । उहाँले ५ दर्जनभन्दा बढी गीत रचना गरि विभिन्न कलाकारहरुको स्वरले गुञ्जायमान गराई सकेका छन् । उहाँको योगदान जन्म ऋण तिर्न पुग्ने गरि समाजमा छरिएका छन् । अत: उहाँ भगवानको कृपाले जन्मिएको, विनम्र बहुमूल्य रत्न समान हुन् भन्ने मनमा लागेको छ । उहाँलाई भगवानको प्रसाद मान्न सकिन्छ । हुन त मैले दिने तर्क र मेरो दृष्टिकोण, उहाँको प्रतिभा एवम् अनुभव लगायत अध्ययन अनि त्यसबाट प्राप्त निष्कर्ष सुर्य अगाडि कुनै मैनबत्तीको उज्यालो भन्दा अन्य नहोला । इन्द्रको अगाडि स्वर्गको बयान बन्न सक्छ । मेरो कमि हुनसक्छ । तरपनि केही कुरा लेख्ने आँट उहाँकै साथ गर्दैछु ।
उहाँ, वि.सं. २०२६ असोज ६ गते बुबा लालबहादुर श्रेष्ठको आँगनमा आमा जनकमाया श्रेष्ठको कोखबाट धर्ती अवलोकन भ्रमणमा प्रक्षेपण हुन आउनु भएको हो । दाजु राजे प्रसाद श्रेष्ठ र भाइ डा.कृष्ण प्रसाद श्रेष्ठलाई जीवनको मजबुत काँधको रुपमा बुझ्नुहुन्छ भने आफ्नो आशिष दिदी शान्ती माया श्रेष्ठ र स्नेह बाँडफाँडको लागि दुई बहिनीहरु रमेला बैद्य श्रेष्ठ र चमेली भोंमी श्रेष्ठ पाउनुलाई पुर्णता मान्नुहुन्छ । उहाँले आफ्नो लागि एकमुखे रुद्राक्षको रुपमा श्रीमती शान्ती श्रेष्ठलाई रोज्नु भएको छ भने छोराहरु डा.रुजेन श्रेष्ठ र ई. सुजेन श्रेष्ठलाई सभ्य समाजको लागि आवश्यक योद्धा अनुरुप तयार गर्नुभएको छ । जीवनको यात्रा उग्रचण्डी नाला, बनेपा न.पा. ४, काभ्रेबाट सुरु गर्नु भएको थियो । हाल, टोखा न.पा. ९, गोंगबु, काठमाडौंबाट आफुलाई सभ्य समाजको योग्य आत्मा बनाउन निरन्तर नदि झै गन्तव्य कहाँ, कुन दिशामा..... कति टाढा छ ? मनमा चिन्ता लिन छोडी बगिरहनु भएको छ ।
उहाँले आफुलाई नेपाली विषयमा एम.ए.बाट सुसज्जित एवम् दिक्षित बनाई बि.एड. पूरा गरि शिक्षालाई हतियार होईन् औजार स्वरुप समाज रुपान्तरणको लागि प्रयोग गर्दै आउनु भएको छ । भक्तपुरको लोक साहित्य परम्परा जस्तो गहन अध्ययन तथा अनुसन्धान गरि योगदान अनुरुपको पहिचान बनाउने यात्रामा हुनुहुन्छ । यो पक्कै पनि गौरवको विषय समाजले बुझ्नुपर्छ । आफुसँग भएको औजारले समाजको लागि आवश्यक विचार बिम्ब एवम् प्रेरणादायी यथार्थताहरु उहाँले यसरी पस्किनु भएको छ ।
(१) हाइकुसङ्ग्रह :
(क) शब्द पथमा
(ख) दुखेको घाउ
(ग)लय् लुगु किया ।
(२) मुक्तकसङ्ग्रह :
(क) फूलको माया लागेपछि
(ख) मेरो गोरेटोमा तिम्रो छाया
(ग) भो तस्बिर नखिच ।
(३) गजलसङ्ग्रह :
(क) दाउहरू फरक फरक
(ख) ख्याल ख्यालैमा सल्क्यो जिन्दगी ।
(४) कवितासङ्ग्रह :
(क) लाज हराएका मान्छेहरू
(ग) मिहिनेती कमिला ।
(५) भूमिकासङ्ग्रह :
(क) अनामनिका भूमिकाहरू भाग-१ ।
(६) लेखसङ्ग्रह :
(क) यह ध्यो (ऐतिहासिक लेख)
(ख) नास ध्यो (ऐतिहासिक लेख)
(ग) पत्रकारिता
(घ) भाषण कला
(ङ) १०१ गीतासार
(च) एक कप चिया
(छ) ३०दिने अंग्रेजी ।
(७) सम्पादन:
(क) चुटकिला सङ्ग्रह भाग १
(ख)"चुटकिला सङ्ग्रह भाग-२
(ग)"स्पन्दन (हवाई मासिक)
(घ) भिन्तुना (भित्ते पत्रिका
(ङ) प्रदीपिका अङ्क १ र अङ्क-२,
(च) जुनियर रेडक्रस स्मारिका(काभ्रे)
(छ) नव प्रतिभा (मासिक)
(ज) उग्रचण्डी नालाको अभिलेख सङ्ग्रह भाग-१
(झ) गोंगबु व्यापार स्मारिका
(ञ) जल आवाज (हवाई, द्वैमासिक)
(ट) घचा ल्वहं (हवाई मासिक) |
आफुसँग भएको श्रोत र साधन समाजको लागि अझ भनौं राष्ट्रकै लागि भन्दै तदर्पण गर्दै हिड्दा लागेका वा लाग्ने सक्ने ठेसहरु कष्ट स्वरुप कहिं कतै नासुर नबनियोस् भन्ने बुझेर विभिन्न सम्मानको हकदार मान्दै उहाँमा निछावर गरेका छन् ।
१. जनमत जनक सेवा सम्मान २०७३(जनमत वाङमय प्रतिष्ठान नेपाल, बनेपा, काभ्रे)।
२. सिम्पल सम्मान २०६८ ( सिम्पल आर्टस् वानेश्वर, काठमाडौं) ।
३.श्रष्टा सम्मान टोखा नगरपालिका ।
४.दीपज्योति सम्मान २०७५ ।
५.खड्गवेद अक्षरमार्ग काभ्रेली स्रस्ता सम्मान २०७६।
उहाँ जनमत वाङमय प्रतिष्ठान, काभ्रेली साहित्य संगम, सुनकोशी साहित्य प्रतिष्ठान, हृदय चन्द्र सिंह प्रतिष्ठान आदिका सदस्य हुनुहुन्छ भने निश्पक्ष मिडिया प्रा. लि.खोज रेडियो, टिभी र अनलाइनका अध्यक्ष हुनुहुन्छ । त्यस्तै साहित्यकार खेलकुद समाजका सचिव एवम् गोंगवुं व्यापार समितिका अध्यक्षको हैसियतले पनि सार्वजनिक हुनुहुन्छ । संकल्प यात्रा र संसाक मासिकका सल्लाकार स्वरुप प्रस्तुत हुनुहुन्छ । गोंगबु भैरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षका पनि परिचित हुनुहुन्छ ।
उहाँले राजनीति सबै नीतिहरुको उत्तम नीति भनिए तापनी त्यो एउटा जनता झुक्याउने एक खेल मैदान हो । नेपालमा केही गरेर देखाउने हो अठोटलाई लक्ष्यको रुपमा मानुहुन्छ । तर यहाँको परिस्थितिले त्यो गर्न दिंदैन् भन्ने मनमा संकोच साँच्नु भएको छ । भबिस्यमा एक उद्योगपति बन्ने उदेश्य राखे तापनि हालको परिवेश परिस्थितिले त्यो फलामकै चिउरा हो भन्ने आशंका अनुरुप आफु सफल बन्न प्रयासरत नै छु भन्ने हल्का मुस्कानसाथ केही विद्रोह पोख्ने आशय पाएको छि । यो माडवाडीको देश हो रे भन्ने विचलनमा पनि देखिनुहुन्छ । आशंका, विद्रोह एवम् विचलन बापत पनि आफुलाई कहिं रोकेर वा विश्राम खोजेर आनन्दित हुने चाह कतै देख्दिन् । उल्टो, उहाँले बेकरी सञ्चालन तथा कापी उद्योगमा आफुलाई खर्चेर कृषि तथा कुखुरा पालन व्यवसायबाट अझ अगाडि प्लास्टिक तथा पानी उद्योगमा आवद्ध भई संचार जगतले आफ्ना खुबी घोट्दै चम्काउँदै आउनुभएको छ । उहाँका बहुआयामिक चाह मध्येको एक कपडा पसल पनि हुन् भने स्टेसनरी पसल मनोरञ्जनकै विशेष अनुरुप व्यस्ततामा आफुलाई ढाल्नु भएको छ । उहाँ १४ बर्ष शिक्षण पेशामा पनि रुबरु हुनु भएको थियो भने हाल अनामणी प्रकाशनबाट विजय ध्वज फहराउन तत्पर हुनुहुन्छ ।
अन्तमा, जीवन मात्र जन्म, खान, सुत्न र मर्नको चक्र होईन् । जीवनलाई अर्थपूर्ण बनाउन संघर्ष, तपस्या र निरन्तर कर्म आवश्यक पर्छ । स्रष्टा भएर वा व्यवसायी भएर वा समाजसेवी भएर, जसरी पनि मान्छेले आफ्नो जीवनलाई समाजको लागि उपयुक्त बनाउन सके मात्रै उसले वास्तविक आनन्द पाउँछ । रत्नप्रसाद अनामणी श्रेष्ठज्यूको जीवन यात्रा हामी सबैका लागि प्रेरणादायी छ । उहाँले स्रजनशीलता र व्यवसाय दुवैलाई सन्तुलनसहित अगाडि बढाउनु भएको छ । शिक्षालाई हतियार होइन, औजार बनाएर समाज रुपान्तरणको बाटो देखाउनुभएको छ । साहित्यमार्फत उहाँले चेतना, विचार र प्रेरणा दिनुभएको छ भने व्यवसायमार्फत स्वावलम्बनको बाटो पनि खोल्नुभएको छ । उहाँबाट संघर्षलाई अवसर बनाउन सक्नेले मात्र जीवनमा सच्चा सफलता पाउँछ । साहित्य, शिक्षा र व्यवसाय एकआपसमा विरोधी होइनन् पूरक हुन् । समाजलाई दिन सक्नेले मात्र समाजबाट लिन पाउँछ । राजनीतिभन्दा पनि इमानदार कर्म र व्यवसायले राष्ट्रलाई अघि बढाउँछ । बहुआयामिक सोच, दृढ आत्मविश्वास र सत्कर्म नै जीवनको आधार हुन् । त्यसैले, जीवनमा निराश नभई निरन्तर कर्म गर्नुपर्छ । संघर्षलाई जिन्दगीको परीक्षा मान्नुपर्छ । र सृजनशीलता तथा व्यवसाय दुवैलाई हातेमालो गर्दै अघि बढ्न सकिन्छ भन्ने प्रेरणा उहाँको परिचयम व्याप्त छन् । जीवनमा प्राप्त प्रसाद होस् वा अन्य त्यसको स्वादमा आशिष हुन्छ सोचिन थाल्यो भने घुम्टी मोडमा जीवनले मोड्ने प्रयास गर्नेछैन् । अत: परिस्थिति स्वरुपको व्यस्ततालाई अवसर मान्न सक्नु नै जीवन जिउनु हो । समाजले रत्नप्रसाद जस्तै अन्य जीवनहरुको परिचयात्मक शिक्षा अनुशरण गर्नुपर्छ भने प्रयोजन स्वरुप रुपान्तरणको लागि लिनुपर्छ । उहाँ नेपाली र नेपाल भाषा दुबैबाट आफुलाई परिचित गराउन सक्नुहुने प्रबुद्ध व्यक्तित्व स्वरुपमा समाजमा आफ्नो अस्तित्व बरकरार राख्दै आउनु भएको एक सजिवता हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर