प्राधिकरणले दिने विपद् उद्दार राहत सामाग्री मुस्ताङ ल्याईने

जोमसोम—संघीय सरकारबाट प्राप्त विपद् उद्दार राहत सामाग्री मुस्ताङ ल्याईने भएको छ । संघीय सरकार अन्तर्गत विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन प्राधिकरणबाट विपद्जन्य राहत सामाग्री केहीदिन भित्रै मुस्ताङ  ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

यसबारे बिहिबार आयोजित जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला सम्मिलित बैठकमा प्रजिअ जनकराज पन्तले जानकारी दिएका हुन् । मुस्ताङलाई प्राधिकरणबाट १० थान टेन्ट,५० थान ब्ल्याङ्केट र ५० थान त्रिपालसहित विपद् उद्दारका लागि आवश्यक उपकरण सामाग्री उपलब्ध गराउन लागेको प्रजिअ पन्तको भनाई छ ।

उनले राहत सामाग्रीहरु करिव एक पिकअफ भ्यान जति रहेको र सोको ढुवानी गर्न समस्या परेको बताए । ‘प्राधिकरणमा विपद् उद्दार सामाग्रीहरु हामीलाई छुट्याईएको छ, ढुवानी गर्न पैसा छैन, प्रजिअ पन्तले भने,‘कुनै विकल्प खोजेर केहीदिनमै उपलब्ध सामान ल्याउने तयारी गरेका छौं ।’ 

यता, नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाले विपद् उद्दार तथा व्यवस्थापनका लागि चालु वर्ष ४ लाख रकम खर्च गर्नसक्ने अवस्था रहेको बताएको छ । रेडक्रस मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले मुस्ताङमा हुनसक्ने सम्भावित विपद् व्यवस्थापनका लागि रेडक्रसले उक्त रकम खर्च गर्न सक्ने गरी मौज्याद रहेको जानकारी दिए ।

रेडक्रसले करिव ५० घरधुरीलाई त्रिपाल र कम्बलको व्यवस्थापन गर्न सक्ने सभापति थकालीले बैठकलाई जानकारी गराएका हुन् । यसका अलावा रेडक्रससंग पाल २,स्टेचर १०,टेन्ट १० सहित अन्य सामान मौज्याद छन् ।

 बैठकमा हिमपात र चिसोको सामाना गर्न सबै सरोकारवाला निकायलाई तैयारी अवस्थामा राख्ने र आवश्यक जनचेतनामूलक गतिविधि गर्ने निर्णय गरिएको छ ।


प्रतिक्रिया