जित नजिक पुगेर पनि नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध जित नजिक पुगेर पनि ४ रनले हार बेहोरेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेटको क्षतिमा १८० रनमै सीमित रह्यो।


अन्तिम ओभरमा नेपाललाई १० रन आवश्यक थियो। तर पाँच रन मात्र जोड्न सकेपछि नेपालको जितको सपना टुट्यो। उक्त ओभरमा नेपालले कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेन।


नेपालका ओपनरद्वय आशिफ शेख ७ रन र कुशल भुर्तेल २९ रनमा आउट भए। आशिफ र भुर्तेलबीच पहिलो विकेटका लागि ३.५ ओभरमा ३७ रनको साझेदारी भयो, जुन टी–२० विश्वकपमा नेपालको अहिलेसम्मकै ठूलो ओपनिङ साझेदारी हो। यसअघि सन् २०१४ मा सागर पुन र सुवास खकुरेलबीच ३६ रनको साझेदारी भएको थियो।


आशिफलाई लियाम डाउसनले क्याच गराए भने भुर्तेललाई विल ज्याक्सले कट एन्ड बोल्ड गरे। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


त्यसपछि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीबीच तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी भयो, जसले नेपाललाई जिततर्फ आशावादी बनाएको थियो। ऐरीले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडे। यसक्रममा उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने। ऐरीलाई साम करनले क्याच गराए।


१५औं ओभरमा ऐरी आउट भएपछि अर्को ओभरमै कप्तान रोहित पनि ३४ बलमा ३९ रन बनाएर पवेलियन फर्किए।


रोहित र ऐरी आउट भएपछि आरिफ शेख र लोकेश बममाथि जिम्मेवारी आयो। तर आरिफ १८औं ओभरमा १० रन जोडेर आउट भए। जोफ्रा आर्चरलाई छक्का प्रहार गरेलगत्तैको बलमा एज लागेर उनी विकेटकिपरको हातमा समातिए।


यही ओभरको पाँचौँ र छैटौँ बलमा लोकेश बमले आर्चरलाई लगातार दुई छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्‍याए। नेपाललाई अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो। १९औं ओभरमा नेपालले १४ रन जोड्यो।


अन्तिम ओभरमा पहिलो बल डट भयो। दोस्रो बलमा बमले एक रन लिए भने तेस्रो बलमा करण केसीले एक रन जोडे। चौथो बलमा दुई रन आए पनि पाँचौँ बलमा रन आउन सकेन। अन्तिम बलमा छक्का आवश्यक हुँदा बमले एक रन मात्र जोड्न सके। बमले २० बलमा ४ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाए।

बलिङतर्फ इंग्ल्यान्डका लियाम डाउसनले २ विकेट लिए।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो।


फिल साल्टलाई डेब्यु खेलाडी शेर मल्लले एक रनमै आउट गरेपछि बेथेल मैदानमा आएका थिए। बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित आक्रामक ब्याटिङ गरे। उनी १४औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच आउट भए। बेथेल आउट हुँदा इंग्ल्यान्डको स्कोर १२८ रन पुगेको थियो।


डेब्यु खेलाडी शेर मल्लले आफ्नो पहिलो स्पेलको पहिलो बलमै साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराउँदै टी–२० विश्वकपमा डेब्यु बलमै विकेट लिने उपलब्धि हासिल गरे।


जोश बटलर पाँचौँ ओभरमा नन्दन यादवको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच भए। टम ब्यान्टन २ रनमा सन्दीप लामिछानेको एल्बीडब्लूको धरापमा परे। रिभ्यु गरे पनि उनी जोगिन सकेनन्। बेथेल आउट भएको एक ओभरपछि साम करन पनि २ रनमा ऐरीको बलमा आउट भए।


कप्तान ह्यारी ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। उनी १९औं ओभरमा नन्दन यादवको बलमा शेर मल्लबाट क्याच भए। अन्तिम ओभरमा विल ज्याक्सले तीन छक्का प्रहार गर्दै १८ बलमा ३९ रन नटआउट बनाए।


नेपालका लागि बलिङमा दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए। ऐरी टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बने। उनले सोमपाल कामीको ७ विकेटको कीर्तिमान तोड्दै आफ्नो विकेट संख्या ८ पुर्‍याए।


यस्तै कप्तान रोहित पौडेल टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बने। उनले पारस खड्काको ४ खेलको कीर्तिमान तोडे।

अब नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग खेल्नेछ। तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजसँग र अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ। तीनै खेल मुम्बईमै हुनेछन्।

प्रतिक्रिया