कैलाली जिल्लाको विभिन्न स्थानमा पछिल्लो ६ घण्टामा अत्यधिक वर्षा भएको छ, जसले बाढीको सम्भावना बढाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा पछिल्लो ६ घण्टामा ९०.२ मिलिमिटर वर्षा मापन गरिएको छ। भारी वर्षाका कारण मोहना नदी र यसको सहायक नदीहरूमा बहाव तीव्र हुने खतरा रहेकोले तटीय क्षेत्र र होचा भू-भागमा बसोबास गर्ने नागरिकहरूलाई बाढी सूचना केन्द्रले सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल काठमाडौंसहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, स्याङ्जा, पर्वत, अछाम, नुवाकोट, पाल्पा, कञ्चनपुर, र कैलालीका विभिन्न भागमा निरन्तर वर्षा जारी छ।
महाशाखाका ताजा विवरणअनुसार, बाराको सिमरा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १३९ मिलिमिटर वर्षा मापन गरिएको छ, जसमा पछिल्लो घन्टामा मात्र १२९.४ मिलिमिटर वर्षा भएको छ। पर्साको रंगपुरमा २४ घण्टामा १६७ मिलिमिटर वर्षा मापन भएको छ, जसमा पछिल्लो ६ घण्टामा १४५.२ मिलिमिटर वर्षा भएको छ। यस्तै, स्याङ्जाको पञ्चमुलमा १३०.२ मिलिमिटर, पर्वतको पञ्चासेमा ११६.२ मिलिमिटर, र कञ्चनपुरको सुन्दरपुरमा ९८.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसैगरी, बाढी व्यवस्थापनको लागि आपतकालीन सेवा प्रदायक निकायहरूलाई उच्च तयारी अवस्थामा राखिएको छ।