काठमाडौँ, भदौ २९ गते । हरितालिका तिज पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि महिला दिदीबहिनीको चहलपहल बढेको छ। तिजको व्रत बसेका महिलाहरू पूजा–आराधना तथा भगवान् शिवको दर्शनका लागि पशुपतिनाथ पुगेका छन्।
हरितालिका तिज नेपाली महिलाहरूले विशेष उत्साह, श्रद्धा र उमङ्गका साथ मनाउने महत्वपूर्ण पर्व हो। यस अवसरमा महिलाहरू रातो पहिरन, गरगहना तथा चुरा–पोतेमा सजिएर शिवालयमा पुग्ने र भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा छ।
तिजको मुख्य दिन निराहार व्रत बस्ने परम्परा रहेकाले अघिल्लो साँझ माइती तथा आफन्तको घरमा भेला भएर ‘दर’ खाने चलन छ। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत थप आत्मीय बनाउने गरेको छ।
पशुपतिनाथमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको सुरक्षामा नेपाल प्रहरीका महिला प्रहरीहरू पनि सक्रिय रूपमा खटिएका छन्। कर्तव्यमा समर्पित हुँदै भक्तजनको सुरक्षा र व्यवस्थापनमा खटिएका महिला प्रहरी स्वयं पनि तिजको धार्मिक आस्थासँग जोडिएको दृश्यले सेवा, कर्तव्य र श्रद्धाको सुन्दर संगम देखाएको छ।
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज धार्मिक आस्थासँगै नेपाली महिलाको सांस्कृतिक पहिचान, आपसी भेटघाट र सामाजिक ऐक्यबद्धताको पर्वका रूपमा समेत स्थापित छ।
यसै अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा देखिएको तिजको उल्लास, पूजा–आराधना, महिला भक्तजनको सहभागिता तथा सेवामा खटिएका महिला प्रहरीका केही तस्बिरहरू :
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय