मिलन चाम्सको ‘अञ्जिला’ फिल्मको प्रिमियर अपेक्षाभन्दा सामान्य

काठमाडौं – नेपाली फिल्म उद्योगमा भव्य प्रिमियर आयोजना गर्ने निर्देशक तथा निर्माता मिलन चाम्सको नयाँ फिल्म ‘अञ्जिला’ को प्रिमियर अपेक्षाभन्दा निकै सामान्य देखिएको छ। विगतका उनका फिल्महरू जस्तै ‘गोर्खा वारियर’‘वर एण्ड वधु’ ले ठूला हलमा भव्य प्रिमियर पाएको भए पनि, ‘अञ्जिला’ को प्रिमियर तुलनात्मक रूपमा शान्त रह्यो।

ललितपुरको लबिम मलस्थित क्युएफएक्स हलमा आयोजना गरिएको सोमबारको प्रिमियरमा न त ठूलै तामझाम देखियो, न त धेरै सेलिब्रिटी उपस्थित भए। फिल्मका मुख्य कलाकार दयाहाङ राई, निर्देशक मिलन चाम्स र निर्माता मात्र उपस्थित थिए। मुख्य अभिनेत्री तथा नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा भने खेलकुद प्रतियोगिताका कारण विदेशमा थिइन्।

सधैं झैं रातो कार्पेट बिछ्याइएको भए पनि ठूलो साउन्ड सिस्टम वा भव्य कार्यक्रमको आयोजना गरिएको थिएन। उपस्थित फिल्मकर्मीहरू समेत प्रिमियरको माहोल देखेर अचम्मित भएका थिए। कतिपयले “यो त मिलन चाम्सको फिल्म प्रिमियर नै हो?” भनेर आश्चर्य प्रकट गरे।

प्रिमियरमा सेलिब्रेटीको उपस्थिति न्यून भए पनि अभिनेत्री केकी अधिकारी, निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल र राष्ट्रिय महिला फुटबल टोलीका केही खेलाडीहरू ले फिल्मबारे आफ्नो धारणा राखे।

फिल्म हेरेपछि अधिकांशले ‘अञ्जिला’ले दर्शकलाई भावुक बनाउने कथा बोकेको प्रतिक्रिया दिए। अब यो फिल्मले दर्शकको मन जित्न सक्छ या छैन, त्यसको निर्णय बिहीबारबाट प्रदर्शनमा आएपछि हुनेछ।

प्रतिक्रिया