नेपाल टेलिकम र एनसेलमा टिकटक प्रतिबन्ध हट्यो

काठमाडौं, भदौ २२ – नेपाल टेलिकमको नेटवर्कमा टिकटक चलाउन पाउने सुविधा पुनः सुचारु भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने जानकारी दिएपछि नेपाल टेलिकमले आफ्नो नेटवर्कमा टिकटक चलाउन पाउने सुविधा पुनः सुरु गरेको हो।

सामाजिक सद्भाव र वातावरणमा नकारात्मक असर परेको भन्दै २०७८ कात्तिक २७ गते सरकारले टिकटकमा प्रतिबन्ध लगाएको थियो। तर, मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यससँगै, नेपाल टेलिकमका ग्राहकहरूले पुनः टिकटक सजिलै प्रयोग गर्न पाउने भएका छन्।

यसैगरी, अर्को प्रमुख मोबाइल सेवा प्रदायक एनसेलले पनि शुक्रवारदेखि आफ्नो नेटवर्कमा टिकटक चलाउन पाउने व्यवस्था लागू गरेको छ। दुवै सेवाप्रदायकले टिकटक प्रतिबन्ध हटेसँगै आफ्ना सेवाग्राहीहरूलाई सामाजिक सञ्जालको उपयोगमा सहजता मिल्ने आशा व्यक्त गरेका छन्। 

(आमा दर्शन न्यूज)

प्रतिक्रिया