स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारितालाई सन्तुलित गर्ने गरी मिडिया काउन्सिल विधेयकमा छलफल



काठमाडौं । स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिता बलियो लोकतन्त्रका लागि समान रूपमा आवश्यक रहेकोमा जोड दिँदै ‘मिडिया काउन्सिल विधेयक, २०८३’ को मस्यौदामाथि सरोकारवालाबीच खुला छलफल गरिएको छ।


छलफलमा सम्पादक, पत्रकार, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले विधेयकलाई प्रेस स्वतन्त्रता संरक्षणसँगै पत्रकारितालाई थप जिम्मेवार, मर्यादित र उत्तरदायी बनाउने दिशामा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन्।


छलफलका क्रममा कृत्रिम बौद्धिकता (एआई), डिपफेक, डिजिटल पत्रकारिता, स्वनियमन, प्रतिउत्तरको अधिकार, मिडिया साक्षरता तथा मिडिया काउन्सिलको स्वायत्तता लगायतका विषयमा विशेष चर्चा भएको जनाइएको छ।


सञ्चार क्षेत्रमा तीव्र रूपमा विकसित हुँदै गएको प्रविधि र त्यसबाट सिर्जित नयाँ चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। विशेषगरी एआई र डिपफेक प्रविधिको बढ्दो प्रयोगसँगै समाचारको विश्वसनीयता, तथ्य जाँच र पत्रकारिताको नैतिकतासम्बन्धी विषयलाई कानुनमा स्पष्ट रूपमा समेट्नुपर्ने सुझाव दिइएको छ।


सम्बन्धित पक्षबाट प्राप्त सुझावलाई समेट्दै प्रेस स्वतन्त्रतामैत्री, उत्तरदायी र भविष्यमुखी कानुन निर्माण गर्ने उद्देश्यले परामर्श प्रक्रियालाई निरन्तरता दिइने बताइएको छ।


सरकारले मिडिया काउन्सिलसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन अघि बढाएको प्रक्रियामा सञ्चार क्षेत्रका सरोकारवालाको सुझावलाई महत्वपूर्ण आधारका रूपमा लिइने जनाइएको छ।

प्रतिक्रिया