सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ।यसबारे सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छलफल भएको छ।२४ सै घण्टा व्यापार व्यवसाय सञ्चालनसम्बन्धी समन्वय बैठकमा सम्बन्धित निकाय र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन्।
उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको हो।ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ।सम्बन्धित निकाय र व्यवसायीसँगको छलफलमा प्रजिअ बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुलाउने तयारी रहेको बताए।सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने उनले बताए।२४ सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने अपेक्षा छ।
अहिलेको भन्दा अपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने उनले बताए। व्यवसायीले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुने गरी ध्वनी प्रदुषण गर्न नपाउने पनि उनले बताए।‘सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीमा छौं। व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पाइँदैन,’ उनले भने।बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए।
उक्त मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको उनको भनाइ छ। व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको उनले बताए। रबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको बताए।