जोमसोम—मुस्ताङमा दुई विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहिन रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेको भन्ने सूचना प्राप्त भएपनि उक्त पदयात्रीहरु सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।
ईटालियन नागरिक वर्ष ४५ का एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक वर्ष ५५ का मार्को ग्याजोला सम्पर्कविहिन रहेको सूचना मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको प्रहरी निरीक्षक विकले बताए । प्रहरी निरीक्षक विकका अनुसार बेपत्ता भई सम्पर्कविहिन रहेका दुई जना विदेशी नागरिकसहित अरु २ जना पथप्रदर्शक गाईड छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरेपनि उनीहरु रहेको स्थान पत्ता लाग्न नसकेको बताईएको छ ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेतापनि सम्पर्कविहिन रहेका पर्यटकहरु रहेको स्थान पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक विकको भनाई छ ।
प्रहरी स्रोतलाई डोल्पाबाट मुस्ताङ प्रवेश गरेको भन्ने सूचना प्राप्त भएपनि बेपत्ता विदेशी पर्यटकको जिपिएस लोकेशन ट्यापिङ गर्दा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी खोला नजिक देखिएको छ । प्रहरीले अहिले पनि बेपत्ता विदेशीसहित गाईडहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।
फाईल फोटो