प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले उजुरी दर्ता नभएको जिकिर गरेका हुन्। सुशासन समितिको बुधबारको बैठकमा सांसदले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको विषयमा प्रश्न गरेका थिए। सांसदहरूले गृहमन्त्री लामिछाने विरुद्ध दिएको उजुरीका विषयमा प्रश्न गरेका थिए।
त्यसको जवाफमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको जिकिर गरे। “जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नाम बाहेक केही छैन। न हस्ताक्षर छ, न ल्याप्चे छ, न मैले निवेदन दिएको छु, न मेरो सामान्य केवाईसी भरिएको छ,” उनले भने।आफू विरुद्ध अनुसन्धान भइरहेको भन्ने विषयमा पनि कुनै जानकारी नभएको उनले बताए। “न मैले कुनै पत्र पाएको छु न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ,” गृहमन्त्री लामिछानेले भने।
सहकारीको रकम हिनामिनाको मुद्दा अदालतमा विचाराधीन रहेको उनले उल्लेख गरे। “त्यो मुद्दा अदालतमा दर्ता भएको छ, अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन,” लामिछानेले भने। सूर्यदर्शन सहकारीपीडितले लामिछाने विरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा माघ २२ मा जोहरी दिएका थिए। त्यसमा लामिछानेसँगै अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई विपक्षी बनाइएको थियो। दिपेश भने सहकारी ठगी मुद्दामा पक्राउ परिसकेका छन्।
गृहमन्त्री लामिछानेले आफू विरुद्ध भने उजुरी दर्ता समेत नभएको जिकिर गरे। “एउटा जाहेरी छ, सूचनाका रूपमा प्रहरीले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन भन्ने मलाई जानकारी आएको छ लामिछानेले भने। सूर्यदर्शन सहकारीपीडितले दिएको उजुरीमा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ। उनीहरूबाट बिगो भराउन र सहकारी ऐन अनुसार जेल सजाय माग गरिएको छ। उजुरी परेपछि कास्की प्रहरीले माघ २२ मा अनुसन्धान अघि बढाउने बताएको थियो। त्यसलाई पूरक उजुरीका रूपमा लिएर अनुसन्धान गरिने प्रहरीको भनाइ थियो।